जेनजीले नेकपालाई अभिभावक ठान्न थालेका छन् : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर १२ गतेदेखि आफूहरुले गर्न लागेको एकता सन्देश सभाले निर्वाचनको लागि दबाब सिर्जना गर्ने बताएका छन् । अखिल नेपाल ट्रेड युनियनले मंगलवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी सहितका विभिन्न कम्युनिष्ट घटक दलहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको धनगढीदेखी विराटनगरसम्म एकता सन्देश सभा गर्न लागिएको बताए ।
संयोजक प्रचण्डले जेनजी पुस्ताले आफ्नो दललाई अभिभावकको रूपमा लिएको दाबी गरेका छन् । प्रचण्डले जेनजी आन्दोलनको सुरुमै आफूहरूले समर्थन गरेका कारण जेनजी युवाहरूले नेकपालाई अभिभावक ठान्न थालेको दाबी गरे । प्रचण्डले पार्टी एकता प्रक्रियामा पनि सबभन्दा बढी युवालाई सम्बोधन गर्न खोजिएको जिकिर गरे । ‘युवाका ती सही आवाजहरूलाई बलपूर्वक दमन गर्ने कोसिस नगरियोस् भनेर सबभन्दा पहिले सरकारलाई खबरदारी पनि गर्यौं, त्यहि पहलका कारण र विस्तारै युवा पुस्तालाई हामीले गर्दै गरेको संवाद र सहकार्यको कारण अब जेनजी पुस्ताका युवाहरूले पनि आफ्नो असली अभिभावक नेपाली कम्युनिस्ट पार्टी हो भन्ने बुझ्दै गएका छन्,’ उनले भने ।
जेनजी आन्दोलनपछिको अवस्था सामना गर्न, राष्ट्रको स्वाधिनता र वामपन्थी दललाई एकताबद्ध गर्न नेपाली कम्युनिस्ट पार्टी गठन भएको उनको भनाइ छ ।एकता सन्देश सभामा लाखौँ जनता उपस्थिति हुने उल्लेख गर्दै उनले त्यहाँबाट निर्वाचनको वातावरण बनाउन जनता र राजनीतिक दललाई अपिल गर्ने बताए । उनले एकता सन्देश सभाले सरकारलाई पनि निर्वाचनको गर्न प्रोत्साहन र दबाब दुवै सिर्जना हुने उनको दाबी छ । हाल देखापरेको असहज परिस्थितिलाई सहज बनाउन आफूहरु अगाडी बढ्ने उनले बताए ।
उनले भने, ‘हामीले पार्टी एकता सन्देशसभा भनेर पर्सी १२ गतेदेखी धनगढीबाट सभाहरु सुरु गर्देछौँ र विराटनगरसम्म पुग्दैछौँ । त्यहाँ हामी लाखौँ नेपाली जनतालाई एकताको सन्देश प्रवाहित पनि गर्नेछौँ र निर्वाचनको निम्ति वातावरण बनाउन जनतलाई अपिल पनि गर्नेछौँ । राजनीतिक दलहरुलाई अपिल गर्नेछौँ । सरकारलाई निर्वाचनको वातावरण बनाउन गम्भिर पहलको निम्ति हामीले एकातिर उत्प्रेरित गर्नेछौँ भने अर्कोतिर कहिँ न कहिँ दबाब पनि सृष्टि गर्नेछौँ । र देशमा अहिले देखापरेको असहज परिस्थितिलाई सहज बनाउन हामी अगाडी बढ्नेछौँ ।’ उनले देशभक्त वामशक्तिहरु नेपाली कम्युनिष्ट पार्टीमा गोलबन्द हुँदै जाने पनि बताए । उनले नेपाली कम्युनिष्ट पार्टीमा युवाहरुको आकर्षण रहेको पनि दाबी गरे ।
