पेरिसडाँडा मेरो, आलोकनगर तपाईंहरूको भन्ने मानसिकताबाट मुक्त हुनुस् : माधव नेपाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव नेपालले पार्टी एकतापछि अब नेता कार्यकर्तालाई पुरानो पार्टीको धङधङी त्याग्न आग्रह गरेका छन्। पेरिसडाँडामा आयोजित पार्टी प्रदेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी अब नयाँ भइसकेको बताए। नेपालले भने, ‘हामीहरूले पेरिसडाँडा मेरो, आलोकनगर तपाईंको भन्ने होइन, हामी एउटै भइसकेको छौँ । हामीले ‘बा’ भन्ने प्रवृत्ति हाबी हुन दिन हुँदैन। ‘बा’ प्रवृत्तिबाट मुक्त होऔँ, विचार, सिद्धान्त र कार्यक्रमले एकताबद्ध होऔँ ।’
नेपालको राजनीतिमा जनतालाई भरोसा दिनसक्ने पार्टीको रूपमा अगाडि बढाउनुपर्ने सहसंयोजक नेपालले बताए। सह–संयोजक नेपालले कम्युनिष्ट पार्टीको एकताले देशव्यापी रुपमा उत्साह थपिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीलाई बलियो शक्तिको रुपमा स्थापित गर्ने बताए । उनले आपसी मतभेद नगरी जनताको विश्वासको पार्टी बनाउन देशव्यापी सन्देश दिने उल्लेख गरे।
