`

नेकपामा राजनीतिक यात्रा थाल्दै मुस्कान खातुनले भनिन्, ‘अनुहार जले पनि, सपना जलेको छैन’

Nepal One HD ११ मंसिर २०८२ १६:३०
राजनीति

काठमाडौं । तेजाब आक्रमणविरुद्धको अभियान चलाएर चिनिएकी र मानवअधिकारकर्मीका रूपमा सक्रिय मुस्कान खातुन अब औपचारिक रूपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छन् । राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एकता घोषणा कार्यक्रममा सहभागी हुँदै उनले आफ्नो व्यक्तिगत पीडा, पाँच वर्ष लामो संघर्ष र नयाँ राजनीतिक यात्राबारे खुलेर धारणा सार्वजनिक गरिन् ।

सम्बोधनको सुरुमै उनले आफ्नै जीवनको अत्यन्त पीडादायी अध्याय स्मरण गरिन्—तेजाब आक्रमण । तर त्यो घटनाले आफूलाई रोक्न नसकेको उनको दृढ आवाज सबैको ध्यान खिच्ने खालको थियो । ‘जसले मलाई तेजाब आक्रमण गरेको थियो, उसले मेरो अनुहार जलाएको छ’, मुस्कानले भनिन्, ‘तर मेरो सपना कहिल्यै जलेको छैन ।’

उनका अनुसार देशमा उनीजस्तै धेरै दिदीबहिनीहरू विभिन्न रूपका हिंसाबाट पीडित छन् । तेजाब आक्रमण अन्त्य गर्न पाँच वर्ष निरन्तर लडिरहँदा आफू सफल भएको बताउँदै उनले भनिन्, ‘तेजाब आक्रमण मात्रै हिंसा होइन, देशभरि नदेखिएका धेरै हिंसाहरू छन् । सबै खाले हिंसा अन्त्य गर्न अब हामी सबै एकजुट हुनुपर्छ ।’ युवा पुस्ता-विशेषगरी जेनजीतर्फ इंगित गर्दै मुस्कानले नयाँ पुस्ताको सोच, आकांक्षा र भोलिको नेपालको दिशाबारे बोलेकी थिइन् । ‘जेनजीले चाहेको देश प्रगति होस्, भ्रष्टाचार अन्त्य होस्’, उनले भनिन्, ‘त्यही चाहनाका साथ म आज नेकपामा जोडिएकी छु । हामी सबै एकताबद्ध हुन सके देश बदलिन्छ ।’

उनले भ्रष्टाचार, सामाजिक वैमनस्य र हिंसाको अन्त्य सम्भव छ भन्दै युवाहरूलाई पछाडि नफर्कन आग्रह गरिन् । राष्ट्रप्रतिको गर्वलाई जोड दिँदै उनले भनिन्, ‘हामी जहाँ गए पनि, सबैभन्दा पहिला हाम्रो पहिचान—हामी नेपाली। त्यसमा गर्व गर्न सक्नुपर्छ ।’ सम्बोधनको अन्त्यतिर उनले प्रचण्ड र माधवकुमार नेपाललाई धन्यवाद दिंदै भनिन्, ‘मलाई आक्रमण गर्नेले मेरो अनुहार जलायो । तर मेरो विश्वास, मेरो आवाज र मेरा सपना जलाउन सकेन । जेनजी, तपाईंहरूले चलाइरहनु भएको यो कदम कहिल्यै नरोक्नुस् । देश परिवर्तन हुन्छ ।’ मुस्कान खातुनको राजनीतिक प्रवेश केवल पार्टी परिवर्तन होइन, हिंसाबाट बाँचेर उठेको एउटी युवतीको दृढता, संघर्ष र आशाको निरन्तर यात्राको अर्को अध्याय बनेको छ ।

मुस्कानको सम्बोधन :

मेरो नाम मुस्कान खातनु हो । म तेजाब आक्रमणको अभियन्ता तथा मानव अधिकारकर्मी । आजभन्दा पाँच वर्षअघि मसँग तेजाब आक्रमण भएको थियो । यो हिंसालाई अन्त्य गर्नुपर्छ भनेर म पाँच वर्षसम्म लगातार लागिरहेँ । तेजाब आक्रमणलाई अन्त्य गर्न सफल पनि भएँ । तर मलाई के लाग्छ भने तेजाब आक्रमण मात्रै हिंसा होइन । यस्ता धेरैवटा हिंसा छ, जुन दिदीबहिनीले खेप्नुपरेको अवस्था छ । सम्पूर्ण प्रकारका हिंसालाई अन्त्य गर्न जरुरी छ । आज म जेनजी भएकाले सम्पूर्ण जेनजीको विचार बुझेको कुरा भन्न चाहन्छु ।

जेनजीले चाहेको हाम्रो देश प्रगति होस् । हाम्रो देशमा भएको भ्रयष्टाचारको अन्त्य होस् भन्ने चाहना छ । म नेपाली कम्युनिस्ट पार्टीमा म जोडिएको छु । सम्पूर्ण जेनजीलाई अनुरोध गर्छु कि हामी एकता हुन जरुरी छ । हामी एकता भयौं भने हाम्रो देश प्रगति हुनेछ । भ्रष्टाचारको अन्त्य हुनेछ । अवश्य पनि भ्वाइलेन्सको पनि अन्त्य हुनेछ । हामी एकजुट भएर काम गरौं । देशका लागि बाचौं, देशका लागि मरौं । म नेपाली भएर कारणले गर्दा सबैभन्दा पहिला चिनिने हाम्रो देश हो । हामी नेपाली हुँ भनेर गर्व गर्न जरुरी छ । माटोलाई पहिचान गर्न जरुरी छ । जुनसुकै देशमा भए पनि म नेपाली हुँ भनेर प्राउड फि गर्न जरुरी छ । त्यसैगरी यहाँ हाम्रो उपस्थित हुनुभएका प्रचण्ड, माधव कुमार नेपालज्यूलाई धेरै धेरै धन्यवाद । जाँदाजाँदै के भन्न चाहन्छु भने, जसले मलाइ तेजाब आक्रमण गरेको थियो । उसले मेरो अनुहार जलाएको छ, मेरो सपना जलाएको छैन । सम्पूर्ण जेनजीलाई के भन्न चाहन्छु भने जसरी अघि आउनुभएको छ, यो पाइला पछि नपार्नुहोला । अवश्य पनि देश परिवर्तन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *