`

परिवारले फरक जातका प्रेमीको हत्या गरेपछि युवतीले गरिन् शवसँग बिहे

Nepal One HD १५ मंसिर २०८२ ७:५६
प्रमुख खबर

काठमाडौं । भारतको महाराष्ट्र प्रदेशस्थित नान्देडमा २० वर्षीया युवतीले हत्या गरिएका प्रेमीको शवसँग विवाह गरेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार घटना नान्देडको इतवारा क्षेत्रको हो । जहाँ आँचल नामकी युवतीले फरक जातका २२ वर्षीय सक्षम टेटे नामका युवकसँग प्रेम गर्थिन् ।

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू विवाह गर्न चाहन्थे, तर सक्षम फरक जातका भएकाले आँचलको परिवारले यो सम्बन्धलाई अस्वीकार गर्‍यो । परिवारले आँचललाई उनीबाट अलग हुन दबाब दिइरहेको थियो ।

यसैबीच जब आँचलले उनीसँग विवाह गर्न लागेको चाल पाए तब उनका दाजुभाइ र बुबाले बिहीबार टेटलाई भेटघाटका लागि भन्दै बोलाएर पहिले कुटपिट गरे, त्यसपछि टाउकोमा गोली हाने र अन्त्यमा टाउको ढुंगाले किच्दै मारे । यसपछि सक्षम टेटेको अन्तिम संस्कार गर्ने प्रक्रिया चलिहरको बेला आँचल उनको घर पुगिन् ।

उनले सक्षमको शरीरमा हल्दी लगाइन्, अनि उनको हातमार्फत आफ्नो निधारमा सिन्दूर लगाइन् र प्रेमीको मृत शरीरसँग विवाह गरेको घोषणा गरिन् । त्यसपछि उनले आफ्नो बाँकी जीवन उनकै घरमा उनकी श्रीमतीका रूपमा बस्ने निर्णय गरिन् । यसपछि हत्यारा बुबा र दाजुभाइलाई मृत्युदण्डको माग गर्दै उनले भनिन्, ‘उनको मृत्युमा पनि हाम्रो प्रेमले जित्यो र मेरा बुबा र दाजुभाइले हारे ।’

उनले अगाडि भनिन्, ‘मैले यसकारण उनीसँग विवाह गरेँ, किनभने सक्षमको मृत्यु भए पनि उनको प्रेम जीवित छ ।’ यसैबीच प्रहरीले हत्या घटनामा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएकाहरूमा गजानन बालाजिराव मामिलवाड, साहिल मामिलवाड, हिमेश मामिलवाड, जयश्री मदनसिंह ठाकुर, सोमेश लाखे र वेदान्त कुन्डेकर छन् । घटनाबारे थप अनुसन्धान जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *