`

चुनावको तयारीमा लाग्नु पर्ने बेला कांग्रेस महाधिवेशन कति सम्भव ?

Nepal One HD १५ मंसिर २०८२ ११:१५
नेपाली कांग्रेस

काठमाडौँ । करिब तीन महिनादेखि महाधिवेशनको कार्यतालिका, विशेष महाधिवेशनको माग र नेतृत्वबीचको तानातानमै अल्झिएको नेपाली कांग्रेस अहिले विवाद समाधानतर्फ अघि बढेको छ । लम्बिएको विवाद रोक्न सभापति शेरबहादुर देउवाको सक्रियतापछि शीर्ष तहमा पुस भित्रै नियमित महाधिवेशन गर्ने सहमति बनाइए पनि त्यसलाई व्यवहारिकरूपमा सम्पन्न गर्न सकिने कि नसकिने भन्नेमा नेताहरू बीच असमझदारी यथावत छ ।

कांग्रेसभित्र ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको मागसहित हस्ताक्षर बुझाएपछि विवाद एकाएक चर्किएको थियो । शेखर कोइराला समूह, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षीय नेताहरू विशेष महाधिवेशनको भूमिकामा उभिए पनि फागुनमा सम्भावित निर्वाचन नहुने आंकलनले अब नियमित महाधिवेशनमै सहमति खोज्ने वातावरण बनेको नेता बताउँछन् ।

नेताहरूका अनुसार संसद् विघटन प्रकरणमा सर्वोच्चको निर्णय नआइसक्दा, तयार वातावरण नदेखिँदा र फागुन २१ का लागि तोकिएको निर्वाचन समयमै हुने आशंका कमजोर बनेपछि पुसमा महाधिवेशनको कार्यतालिका ल्याउने सहमति तुलनात्मक रूपमा सजिलो बनेको हो। पार्टी विभाजनको जोखिम बढ्दै गएको स्थितिमा कम्तीमा वडा–क्षेत्र तहसम्म अधिवेशन प्रक्रिया सुरु गर्न सके महाधिवेशन केही समय पछाडि सार्न सकिने विकल्प समेत नेताहरूले देखेका छन् । तर कार्यान्वयनको मोर्चामा स्पष्टता छैन । गगन थापा निकट केन्द्रीय सदस्य प्रकाश रसाइली कार्यतालिका आए पनि चुनावअघि महाधिवेशन पूरा हुन कठिन हुने तर्क गर्छन् । उनका अनुसार ‘चुनावअघि अधिवेशन हुन सक्दैन, विशेष गर्नुपर्छ’ भन्ने धारणा बोकेका प्रदेश–जिल्ला–वडास्तरका नेताहरू नै फास्ट ट्रयाकमा लागेनन् भने महाधिवेशन फेरि पनि धकेलिन सक्छ ।

यता प्रदीप पौडेल, जसले यसअघि नै पुसमा महाधिवेशन गर्न लिखित प्रस्ताव पेस गरेका थिए, अहिले कार्यतालिका आउँदा समयको अत्यधिक चाप बढेको बताउँछन् । उनका अनुसार सदस्यता वितरण र सम्बन्धित प्रक्रियाहरू तत्काल टुंग्याउन सके मात्र महाधिवेशन व्यवहारिक तवरले सम्पन्न हुनसक्छ, नत्र ‘घोषणा मात्र’ मा सीमित हुन सक्ने आशंका बढेको छ । शेखर कोइराला समूहकी नेतृ सरिता प्रसाईं भने डेढ महिनामा पनि महाधिवेशन सम्भव रहेको दाबी गर्छिन् । उनका अनुसार माओवादी र एमालेले महाधिवेशन पूरा गरिसक्दा कांग्रेस यथास्थितिमा चुनावमा जाँदा जनतामा नकारात्मक प्रतिक्रिया बढ्न सक्छ, त्यसैले चुनावअघि नै अधिवेशन आवश्यक छ ।

देउवा निकट नेता नैनसिंह महर पनि सबै पक्ष एकताबद्ध हुन सके चुनावको चापका बीच पनि पुसमै महाधिवेशन सम्भव छ भन्नेमा विश्वस्त छन् । ‘केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णय अहिलेको आवश्यकता हो,’ महरको भनाइ छ । त्यस्तै नेता योगेन्द्र चौधरीले पनि असहमतिको मनोविज्ञान छोडेर सबैले सहयोग गरे चुनावअघि नै महाधिवेशन पूरा गर्न सकिने तर्क प्रस्तुत गरेका छन् ।

आज बस्दै गरेको केन्द्रीय कार्यसमिति बैठकले पुस २६–२९ भित्र महाधिवेशन गर्ने कार्यतालिका पेस गर्ने तयारी छ । तर समानुपातिक उम्मेदवार सूची बुझाउने पुस १४–१५, राष्ट्रियसभा सदस्य उम्मेदवारी दर्ता पुस २३ र आगामी फागुन २१ को निर्वाचन कार्यतालिकासँग दौडिनुपर्ने बाध्यताका कारण महाधिवेशन कति यथार्थ रूपमै सम्भव छ भन्ने जिज्ञासा कांग्रेसभित्र गहिरो बनेको छ । केन्द्रीय नेताहरू आशावादी छन्–यदि पार्टीभित्र आजकै निर्णय सर्वसम्मत भयो भने महाधिवेशन सम्भव छ । तर मूल प्रश्न उस्तै छ—कांग्रेसले सहमति बनाएझैं तीव्र गतिमा काम गर्न सक्छ कि फेरि मतभेद र प्रक्रियागत ढिलाइमै फस्छ ? देशको राजनीतिक अनिश्चितताबीच कांग्रेसको निर्णय आजै निर्णायक मोडमा जाने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *