कांग्रेस केन्द्रीय समितिअघि सानेपामा पदाधिकारी बैठक
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि पदाधिकारी बैठक बस्ने भएको छ । केहीबेरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक राखेका छन् । आज दिउँसो २ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी छ । लामो रस्साकस्सीपछि पुसभित्र नियमित महाधिवेशन ल्याउने सहमति कांग्रेसमा जुटेको छ । महाधिवेशनको विषयमा सभापति शेरबहादुर देउवासहित अधिकांश नेताहरू सहमत भए पनि पूर्व पदाधिकारी विमलेन्द्र निधि र कृष्ण सिटौलालगायतका केही नेताहरूले असहमति राख्दै आएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा बस्ने पदाधिकारी बैठकमा केन्द्रीय समितिमा पेश गरिने महाधिवेशनको कार्यतालिकाको एजेण्डामा छलफल हुने भएको छ । पदाधिकारी बैठकबाट कार्यतालिकामा सहमति जुटेपछि केन्द्रीय समिति बैठकमा पेश गरिने भएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस अन्तिम साता १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका आजको बैठकमा पेश गर्ने भएका छन् । महाधिवेशन चुनाव अघि वा पछिको विवादले कांग्रेसको केन्द्रीय समितिको बैठक ६ मंसिरदेखि स्थगित हुँदै आएको थियो । सभापति शेरबहादुर देउवा स्वयं पुसभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन तयार भएपछि केन्द्रीय समिति बैठकमा निणायार्थ प्रस्ताव पेश गरिने भएको छ ।
