आफ्नै गुटका असन्तुष्ट नेतालाई देउवाको चेतावनी : जे–जे परिणाम आउँछ, व्यहोर्नु पर्ला
काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको समय र प्रकृतिबारे चलिरहेको दीर्घ विवाद फेरि चर्किएपछि सभापति शेरबहादुर देउवा आफै अगाडि बढेर हस्तक्षेप गर्न बाध्य भएका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुसभित्रै नियमित महाधिवेशन गर्ने कार्यतालिका पेस गर्ने तयारी गरेसँगै संस्थापन समूहभित्रै असहमति सतहमा आएको थियो ।
पूर्व उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्री कृष्ण सिटौलालगायत देउवा निकट नेताहरूले फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा महाधिवेशन गर्नु पार्टीका लागि उचित नहुने अडान लिँदै आएका थिए । उनीहरूले कार्यवाहक खड्का तथा रमेश लेखकमाथि ‘सम्झौता विपरित अघि बढेको’ आरोप समेत लगाएका थिए, जसपछि संस्थापन पंक्तिभित्र नै तनाव बढेको थियो ।
यही परिस्थितिमा देउवाले आफ्नै समूहका असन्तुष्ट नेताहरूलाई निवासमा बोलाएर कडक भाषामा चेतावनी दिएका छन् । छलफलमा देउवाले खड्काले पेस गर्ने महाधिवेशनसम्बन्धी सबै प्रस्ताव स्वीकार्न निर्देशन दिँदै सहमतिमा नआए ‘जे–जे परिणाम आउँछ, त्यो व्यहोनुपर्ने’ चेतावनी दिएको सहभागी एक नेताले बताए । देउवाको यस्तो सक्रियताले खड्कामाथिको दबाब केही घटे पनि समग्रमा पार्टीभित्रको वैचारिक तथा सांगठनिक द्वन्द्व भने झनै खुल्दै गएको छ । महाधिवेशन विशेष गर्ने कि नियमित भन्ने विषयमा केन्द्रीय समिति असोज २८ गतेदेखि नै मतैक्यमा पुग्न नसकेपछि देउवा स्वयम् सक्रिय भएका हुन् ।
महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र अन्य नेताहरूलाई समेत समेटेर ‘मध्यमार्गी’ कार्यतालिका ल्याउने प्रयासमा रहेका खड्काले आजको बैठकमा पुस २६ गतेलाई लक्षित गर्दै १५औं महाधिवेशनको प्रारम्भिक तालिका पेस गर्ने तयारी गरेका छन् । यसअघि सभापति निवासमा बसेका सतही तथा अंतर्घातपूर्ण छलफलहरूले पुस अन्तिम साताभित्र महाधिवेशन सम्बन्धी कार्ययोजना सार्वजनिक गर्ने सहमति बनाएको थियो । तर देउवानिकट नेताहरूको असहमति पुनः कगचाबअभम भएपछि देउवाले निर्णायक हस्तक्षेप गरेका हुन् । यससँगै महाधिवेशनको गति औपचारिक रूपमा अघि बढ्ने देखिए पनि आन्तरिक असन्तुष्टिको प्रभाव भने आगामी दिनमा अझ प्रस्ट रूपमा देखिने संकेत मिल्दैछ ।
