`

पुस २६–२८ सम्म महाधिवेशन गर्ने कांग्रेसको सर्वसम्मत निर्णय

Nepal One HD १५ मंसिर २०८२ १५:४०
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आउँदो पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो । अहिले कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । असोज २८ देखि जारी बैठक महाधिवेशन मितिबारे सहमति नजुट्दा पटक–पटक सर्दै आएको थियो । लामो छलफलपछि संस्थापन पक्ष पनि पुसभित्र नियमित महाधिवेशनको तालिका ल्याउन सहमत भएसँगै आज बैठक बसेको हो ।

सभापति शेरबहादुर देउवा भेट्न पुगेका असन्तुष्ट नेताहरू पनि सहमत भएपछि आजको बैठकमा महाधिवेशनको तालिका पेस गर्ने तयारी छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ल्याउने तयारी गरेपछि असन्तुष्ट पूर्व उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्ण सिटौलासहित नेताहरू देउवा भेट्न पुगेका थिए । तर, देउवाले नेताहरूले खड्काले ल्याएको प्रस्तावमा सहमति जनाएर जान निर्देशन दिएपछि स्वीकारेर अघि बढ्न तयार भएको एक नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *