`

विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य

Nepal One HD १७ मंसिर २०८२ १८:०३
खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४४ रनको योगफल खडा गरेको हो ।

विराटनगरका लोकेश बमले सर्वाधिक ३५ रन बनाए । साम हेजलेटले २७ रन थपे । यी दुईले १५–२ को स्थितिबाट तेस्रो विकेटका निम्ति ५५ रनको साझेदारी गर्दै विराटनगरको इनिङ सम्हालेका थिए ।

बसिर अहमेदले १९ बलमा एक चौका र एक छक्कासहित २८ रन थपे । मर्चेन्ट डी लांगे १० रनमा अविजित रहे ।

विराटनगर किंग्सबाट पहिलो पटक मैदान उत्रिएका चर्चित दक्षिण अफ्रिकी ब्याटर फाफ डू प्लेसिसले १२ रनमात्र बनाउन सके । लुम्बिनीका अभिषेश गौतमले तेस्रो ओभरको अन्तिम बलमा डू प्लेसिसलाई विकेटकिपर निरोशन डिकवेलाबाट स्टम्प गरे । नौ बल खेलेका डू प्लेसिसले दुई चौका प्रहार गरे ।

प्रतिश जिसीले ११ रन बनाए । ओपनर जर्ज मुन्से ‘डक’ भए । नारायण जोशीले पाँच रन थपे । कप्तान सन्दीप लामिछान एक बलमा छक्कासहित ६ रनमा अविजित रहे ।

लुम्बिनीका शेर मल्लले तीन विकेट लिए । चार ओभरको आफ्नो स्पेलमा शेरले विराटनगरका जर्ज मुन्से, नारायाण जोशी र साम हेजलेटलाई पभेलियनको दिशा देखाए । योसँगै शेर एनपीएलमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा आएका छन् । शेरसँगै सुदूरपश्चिमका अभिनाश बोहराले समान ११ विकेट लिएका छन् ।

रुबेन ट्रम्पेलमन, अभिषेश गौतम र जेजे स्मिथको नाममा समान एक विकेट रह्यो ।

प्रतियोगितामा आज विराटनगर पाँचौँ जितको खोजीमा छ । विराटनगरले यसअघि पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको, काठमाण्डू गोर्खाजविरुद्ध पाँच विकेटको र जनकपुर बोल्ट्सविरुद्ध नौ रनको जित निकालेको थियो । चौथो खेलमा चितवन राइनोजसँग ४८ रनले पराजित भएको विराटनगरले पाँचौँ खेलमा कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको थियो ।

यता, प्रतियोगिताको प्लेअफ सम्भावना बलियो बनाउन लुम्बिनी जितको दबाबमा छ । यसअघि पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको लुम्बिनीले त्यसपछिका तीन खेलमा लगातार हार बेहोरेको थियो । लुम्बिनीले दोस्रो खेलमा कर्णालीविरुद्ध नौ विकेटको, तेस्रो खेलमा काठमाण्डूविरुद्ध २२ रनको र चौथो खेलमा सुदूरपश्चिमविरुद्ध सात विकेटको हार बेहोरेको थियो । पाँचौँ खेलमा भने लुम्बिनीले पोखरा एभेन्जर्सविरुद्ध तीन विकेटको जित निकालेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *