`

मन्त्री घिसिङमाथि मेयर साम्पाङका १० ‘संगीन’ आरोप

Nepal One HD २१ मंसिर २०८२ १३:५७
प्रमुख खबर

काठमाडौं । केहि समयअघिसम्म काठमाडौंका मेयर बालेन (बालेन्द्र) शाहमाथि लगातार खनिंदै आएका धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई पछिल्लो समय ऊर्जामन्त्री कुलमान घिसिङमाथि निरन्तर प्रहारमा उत्रिएका छन् । आउँदो चुनावमा आफ्नो पार्टीलाई बहुमत ल्याउन नदिन देशी–विदेशी तत्वले कुलमानलाई प्रयोग गरेको उनको दाबी छ । केहि दिनअघि फेसबुक लाइभमा बोल्दै साम्पाङले नेपालमा काम गर्ने मान्छे सत्तामा नपुगुन् र देश दरिद्र भइराखोस् भनेर षडयन्त्र भइराखेको आरोप लगाएका छन् ।

त्यसका बाबजुद आफ्नो श्रम संस्कृति पार्टीले बहुमत ल्याएर छोड्ने उनको दावी छ । साम्पाङले घिसिङलाई चुनौती दिँदै भनेका छन्, ‘तपाई मविरुद्ध यसरी प्रयोग भइराख्नु भयो भने हाम्रो श्रम संस्कृति पार्टीले साइड लगाउँछ वा नाघेर जान्छ । त्यो हुनुभन्दा पहिले बचेखुचेको छविलाई बचाउनुस् र मन्त्रीको काममा केन्द्रित हुनुस् ।’ पछिल्ला दिनमा विभिन्न अन्तर्वार्ता र सामाजिक सञ्जालमार्फत साम्पाङले कुलमानको भूमिकाप्रति शंका व्यक्त गर्दै आफूले देखेका ‘रहस्यमय गतिविधि’ बारे खुलेर टिप्पणी र संगीन आरोप लगाएका छन् ।

एक अन्तर्वार्तामा साम्पाङले कुलमान घिसिङलाई कुनै शक्ति वा समूहबाट ‘परिचालित गरेको’ आभास मिलिरहेको बताएका छन् । उनले घिसिङको चरित्रलाई ‘मिस्टेरियस’ अर्थात् रहस्यमयको रूपमा चित्रण गर्दै यस्ता व्यक्तिहरू ‘खतरनाक हुन सक्छन्’ भनेका छन् । हालै घोषणा भएको उज्यालो नेपाल पार्टीमा कुलमानले आफूलाई मूल आधारको जस्तो देखाएको तर नामावलीमा उनको औपचारिक हैसियत नै नरहेको उल्लेख गर्दै साम्पाङले कटाक्ष गरेका थिए ।

उनले भनेका छन्, ‘पार्टीका कागजात हेर्दा उहाँ आधिकारिक रूपमा कतै पनि छैनन्, तर घोषणा कार्यक्रममै गएर आफू नै सबैथोक हो भन्ने शैलीमा प्रस्तुत हुनुभयो । यस्तो दोहोरो व्यवहारले उल्झन देखाउँछ ।’ उनले यस्तो अवस्थालाई भविष्यले पुष्टि गर्ने दाबी समेत गरेका छन् । घिसिङ ‘कसैबाट प्रयोगमा पर्न सक्ने’ सम्भावना समेत साम्पाङले औंल्याएका छन् । एमसीसी कार्यान्वयनमा कुलमानको भूमिका रहेको आरोप लगाउँदै, ‘यस्तो व्यक्तिबाट राष्ट्रिय हितको रक्षा हुने अपेक्षा गर्न कठिन’ भएको टिप्पणी पनि उनले गरेका छन् । उनले भनेका छन्, ‘कुलमान बोर्डिङ पास जस्तो हुन्-कुनै चरणमा आवश्यक तर अन्ततः औचित्यहीन ।’

साम्पाङले वर्तमान सरकार विदेशी शक्तिको समर्थनमा बनेको आफ्नो पुरानो टिप्पणी अहिले सही सावित हुँदै गएको दाबी समेत गरेका छन् । जेन–जेड पुस्तामै पनि निराशा बढेको दावी गर्दै उनले आफ्नो विश्लेषण ‘क्रमशः स्पष्ट हुँदै गएको’ बताएका छन् । श्रम संस्कृति पार्टी दर्तापछि संगठन विस्तार अभियानमा रमाइरहेका साम्पाङ देशका विभिन्न जिल्लामा सभाहरू गर्दैछन् । आफूलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्दै उनले जनमत निर्माणमा तीव्रता बढाएका छन् । यद्यपि, यी कार्यक्रमबीच उनले फेरि एक पटक ऊर्जामन्त्री कुलमानमाथि नयाँ आरोप जोडिदिए ।

फेसबुकमा लेख्दै साम्पाङले भनेका छन्, ‘आफू जहाँ–जहाँ सभाका लागि पुग्यो, त्यही–त्यही स्थानमा विद्युत् लाइन काटिएको छ । भोजपुर, ताप्लेजुङदेखि संखुवासभासम्म आफ्ना गतिविधि गर्दा पटक–पटक बत्ती नबलेको उल्लेख गर्दै उनले यसका लागि प्रत्यक्ष रूपमा घिसिङलाई दोष लगाए । ‘अब हेटौंडा जाँदैछु, त्यहाँ पनि काटिदिनु है’, भन्दै उनले व्यङ्ग्यात्मक शैलीमै कोपिला मारे । उनका यी अभिव्यक्तिले राष्ट्रिय राजनीति र ऊर्जा क्षेत्रमा फेरि एक पटक तरङ्ग पैदा गरेको छ । घिसिङले साम्पाङका आरोपबारे कुनै प्रतिक्रिया नदिए पनि, साम्पाङको निरन्तर टिप्पणीले दुईबीचको तिक्तता झनै सतहमा आएको देखिन्छ ।

हर्क साम्पाङका मन्त्री घिसिङमाथि मुख्य १० आरोप

–कुलमान घिसिङ कुनै शक्तिबाट ‘परिचालित’ छन् ।
–रहस्यमय (मिस्टेरियस) र दोहोरो चरित्रका व्यक्ति भएको आरोप ।
–उज्यालो नेपाल पार्टीमा औपचारिक जिम्मेवारी नभए पनि आफू नै सबैथोक हो भन्ने शैलीमा प्रस्तुत हुँदा भ्रम फैलाएको टिप्पणी ।
–कुलमानलाई कसैले प्रयोग गरिरहेको हुन सक्ने दाबी ।
–एमसीसी ल्याउन कुलमानको हात रहेको आरोप, जुन राष्ट्रियताको पक्षमा हुन नसक्ने दाबी ।
–राष्ट्रिय हितको रक्षा गर्न सक्षम छैनन् भन्ने ठोकुवा ।
–घोषणा सभामा आफ्नो हैसियतभन्दा बढी दाबी गर्दै जनता भ्रमित गरेको आरोप ।
–राजनीतिक रूपमा अनिश्चित, कन्फ्युज्ड व्यवहार देखाएको टिप्पणी ।
–ऊर्जामन्त्री पदको दुरुपयोग गरी आफू जहाँ जाँदा पनि त्यहींको ‘लाइन काटिदिएको’ आरोप ।
–आफ्नो राजनीतिक कार्यक्रममा विद्युत् अवरुद्ध गरेर ‘बाधा सिर्जना’ गरेको आरोप ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *