‘नेताहरु घाटमा जाने बेलासम्म पनि आफै नेता, अध्यक्ष र प्रधानमन्त्री बन्छन्’
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीतिमा अब युवाहरुको दबदबा कायम हुने दाबी गरेका छन् । शुक्रवार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको सामाजिक जवाफदेहिता : मिडिया र युवा संवाद विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राजनीतिमा युवाहरुको उपस्थितिलाई कसैले रोकेर नरोकिने बताए ।
उनले राजनीतिलाई नीतिहरुको राजा मान्ने हो भने समावेशिता, ३३ प्रतिशत महिला प्रतिनिधित्व कायम र युवाहरुको उपस्थिति अनिवार्य रहेको बताए । राजनीतिक दलहरुलाई युवाहरुलाई राजनीतिक नेतृत्वमा ल्याउनका लागि तयार नभइ सुख नरहेको जिकिर गरे । उनले घाटमा जाने बेलासम्म पनि आफै नेता बन्ने, आफै प्रमुख बन्ने, आफै प्रधानमन्त्री बन्ने, आफै अध्यक्ष बन्ने गरेको टिप्पणी गरे ।
उनले भने, ‘नेपाली राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनेवाला छ । जबरजस्त उपस्थिति हुनेवाला छ । कसैले रोकेर रोकिँदैन । पार्टीभित्र र नयाँ पार्टीभित्र । यदि नीतिहरुको राजा राजनीति मान्ने हो भने अब हरेक राजनीतिक पार्टीहरुले स्पष्ट रुपमा समावेशिता, ३३ प्रतिशत महिला प्रतिनिधित्व कायम गर्नुपर्छ । युवाहरुलाई राजनीतिक नेतृत्वमा ल्याउनका लागि तयार नभइ सुखै छैन । रहरले त किन दिन्थे र दिए र ? घाटमा जाने बेलासम्म पनि आफै नेता बन्ने, आफै प्रमुख बन्ने, आफै प्रधानमन्त्री बन्ने, आफै अध्यक्ष बन्ने, यो त देखिराखिएको छ त फेहरिस्त । अहिले दिन्छु दिन्छु भनेर मन फुकाएर दिएको होइन नि । बाध्यता हो । नदिकन सुखै छैन, दिनुपर्छ ।’ मन्त्री खरेलले नेपालको वर्तमान स्थितिले युवा राजनीति र नेतृत्वमा जाज्वल्यमान उज्यालो ल्याउने बताए ।
