`

जनार्दनलाई २८ दिनमै छाडेर दम्पती नै प्रचण्डतिर

Nepal One HD २६ मंसिर २०८२ १५:३६
प्रमुख खबर

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छाडेर जनार्दन शर्मातिर लागेका पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय टेकबहादुर बलम्पाकी र पत्नी सीता दाहाल फेरि प्रचण्डतिरै फर्किएका छन् । उनीहरुले शुक्रबार प्रचण्डलाई भेटेर आफूहरू फेरि नेपाली कम्युनिष्ट पार्टीमै फर्किएको जानकारी गराएका प्रचण्डको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन् । गएको कात्तिक २९ गते बलंपाकी र दाहालले वक्तव्यमार्फत् माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका वाम घटक मिलेर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ मा आवद्ध नहुने निर्णय गर्दै जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा लाग्ने घोषणा गरेका थिए ।

महोत्तरी स्थायी घर भएका बलम्पाकी र दाहाल तीन वर्षअघि मात्रै एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नेकपा छाडेर शर्मातिर लागेका उनीहरूले २८ दिनमै जनार्दनलाई पनि छाडेका हुन् । नेपाली कम्युनिष्ट पार्टीका नेता गिरीराजमणि पोखरेलसँगै प्रचण्ड निवास पुगेका उनीहरूले आफूहरु पुनः नेकपामै फर्किएको जानकारी गराएका आचार्यले बताए । नेता पोखरेलले भने आफू प्रचण्डलाई जन्मदिनको शुभकामना दिन निवासमा पुगेको जानकारी दिए । ‘नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड प्रचण्डलाई आज उहाँकै निवासमा हामी भेट्न गएका थियौं । आजै उहाँको जन्म दिवस रहेछ । जन्मदिनको हार्दिक शुभकामना,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *