एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)
काठमाडौं । नेकपा (एमाले) को ११औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने निर्वाचनमा कडा प्रतिस्पर्धा देखिएको छ । केन्द्रीय कमिटीका ३०१ पदका लागि कुल ६०३ उम्मेदवारी दर्ता भएका छन्। पार्टी निर्वाचन आयोगले दाबी, विरोध र उजुरीको छानबिनपछि मंगलबार बिहान उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको हो। अन्तिम सूचीअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रत्यक्ष प्रतिष्पर्धा हुने भएको छ । उपाध्यक्षमा ११, महासचिवमा २, उपमहासचिवमा ७ र सचिवमा २० जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन मंगलबार पदाधिकारीसहित केन्द्रीय कमिटीका लागि हुने कार्यतालिका छ।
तेस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिएका ओलीले पूरै प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्। उनको प्यानलबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ उम्मेदवार छन्। महासचिवमा शंकर पोखरेलले निरन्तरता पाएका छन्। उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र विष्णु रिमाल तथा सचिवमा भानुभक्त ढकाल, पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, हिक्मतकुमार कार्की, महेश बस्नेत र राजन भट्टराई उम्मेदवार बनेका छन् । ओली प्यानलमा नपरेपछि अग्निप्रसाद खरेलले सचिवमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। यसैगरी लालबाबु पण्डित पनि सचिवमा स्वतन्त्र उम्मेदवार बनेका छन्। उपाध्यक्षमा टंकप्रसाद कार्की र भीमप्रसाद आचार्य स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा छन्।
अर्का अध्यक्ष उम्मेदवार ईश्वर पोखरेलले पनि अलग प्यानल प्रस्तुत गरेका छन्। उनको टिमबाट उपाध्यक्षमा गोकर्ण विष्ट, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ र अरुण नेपाल उम्मेदवार छन्। महासचिवमा सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार बनेका छन्। उपमहासचिवमा योगेश भट्टराई, आनन्दप्रसाद पोखरेल र वैजनाथ चौधरी तथा सचिवमा गोकुलप्रसाद बाँस्कोटा, विनोद ढकाल, ठाकुर गैरे, कृष्णगोपाल श्रेष्ठ, कर्णबहादुर थापा, रचना खड्का, पुरुषोत्तम पौडेल र इन्द्रलाल सापकोटाले उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगका अनुसार पदाधिकारीतर्फ अध्यक्ष १ मा २, उपाध्यक्ष ५ मा ११, महासचिव १ मा २, उपमहासचिव ३ मा ७ र सचिव ९ मा २० जनाको उम्मेदवारी परेको छ। पदाधिकारीमा उम्मेदवारी दिएका अधिकांश नेताहरूले केन्द्रीय सदस्यमा पनि मनोनयन दर्ता गराएका छन्।
केही पदमा भने निर्विरोध चयन भएको छ। मुस्लिम महिला कोटाबाट खाजिदा खातुन सिद्धिकी, प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे, अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी तथा केही क्लस्टरका केन्द्रीय सदस्य निर्विरोध भएका छन्। ४० वर्षमुनिका युवा कोटातर्फ नरेश रोकाया र सुशीलकुमार थापा पनि निर्विरोध चयन भएका छन्। ३ सय १ सदस्यीय केन्द्रीय कमिटी क्लस्टर प्रणालीअनुसार गठन हुनेछ । पदाधिकारी १९ जना रहने छन् भने केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ स्थायी कमिटी बन्ने व्यवस्था छ। यसअनुसार अब एमालेमा ३३ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो गठन हुनेछ। नेतृत्व चयनका लागि ओली र पोखरेलबीच प्यानलसहितको प्रतिस्पर्धाले महाधिवेशनलाई थप रोचक बनाएको छ। पार्टीभित्र विधि, पद्धति, नेतृत्व हस्तान्तरण र संगठन सुदृढीकरणका बहसबीच मतदाताले कसलाई रोज्छन् भन्ने चासो बढेको छ।
यस्तो छ उम्मेदवारको सूची























