`

ठुला कर्पोरेट हाउसका सञ्चालकहरूले श्रमिकको अधिकार खोसे : अध्यक्ष सिम्खडा

Nepal One HD १ पुष २०८२ १३:५४
प्रमुख खबर

काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष जगतबहादुर सिम्खडाले ठुला कर्पोरेट हाउसहरूले श्रम शोषण गर्ने गरेको आरोप लगाएका छन् । काठमाडौँमा मङ्गलवार आयोजित एक कार्यक्रममा उनले कर्पोरेट हाउस र मल्टीनेशनल कम्पनीहरूले श्रमिकहरूलाई अधिकार दिन नमान्ने गरेको आरोप लगाएका हुन् । उनले श्रमिकलाई अधिकार दिनुपर्ने भएकोले कम्पनीहरूले पछिल्लो समय अस्थायी श्रमिकलाई ल्याएर काम गर्ने प्रचलन बढेको बताए ।

स्थायी श्रमिकहरू निकालेर अस्थायी श्रमिक भर्ती गर्ने प्रचलनले श्रमिकहरू मारमा परेको उनको भनाई छ । स्थायी श्रमिकलाई न्यूनतम पारिश्रमिक दिनुपर्ने, प्रत्येक दुई वर्षमा तलववृद्धि गर्नुपर्ने, सामाजिक सुरक्षा लागू गर्नुपर्ने कारणले ठुला भनिएका होटलहरु नै यसबाट पन्छिन खोज्ने गरेको उहाँको दाबी छ । उनले होटलहरुमा श्रमिकले पाउने १० प्रतिशत सर्भिस चार्ज पनि नपाउने गरेको बताए ।

उनले भने ‘अहिले ठुला ठुला कर्पोरेट हाउसहरूका बर्नरहरूले सञ्चालन गरेका, कतिपय मल्टीनेशनल कम्पनीहरूले सञ्चालन गरेका होटलहरु आज श्रमिकलाई अधिकार दिनबाट उहाँहरू भाग्न खोज्नुहुन्छ । आज एउटा श्रमिकलाई स्थायी भइसकेपछि उसले सामाजिक सुरक्षाको कुराकानी गर्छ, उसले तलब न्यूनतम बेतनको कुरा गर्छ, उसले त्यो सँगै श्रम ऐनले दिएको प्रत्येक दुई वर्षमा सामूहिक सौदाबाजी गर्ने उसले आफ्नो अधिकार प्रयोग गर्न खोज्छ, त्यसकारणले यो उसको अधिकारलाई दिनु हुँदैन भनेर आज आउटसोर्स कम्पनीमार्फत श्रमिकहरूलाई ल्याएर काममा लाउने, स्थायी प्रकृतिका श्रमिकहरूलाई चाहिँ निष्कासन गर्ने जस्तो स्थिति आज बनेको छ ।’ उनले श्रमिकहरूले श्रमदाताको लगानी र सुरक्षाको चिन्ता गर्ने भएपनि रोजगारदाताहरूले श्रमिकलाई सधैँ बेवास्ता गर्ने गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *