हर्क साम्पाङले गरे उपाध्यक्ष लामालाई निलम्बन
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीका उपाध्यक्ष ‘विश्वक्रान्ति’ भनिने राजकुमार लामालाई निलम्बन गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले लामालाई पक्राउ गरेपछि साम्पाङले बुधबार बिहान फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै निलम्बनको निर्णय सार्वजनिक गरेका हुन् । धनकुटा घर भई हाल काठमाडौंको कपनमा बस्दै आएका लामामाथि २०६८ फागुन १५ गते काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम विष्फोट गराएको आरोप छ ।
सोही मुद्दाका कारण उनलाई पुनः पक्राउ गरी अनुसन्धानका लागि पाँचथर पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राजकुमार लामा कुमार, विश्वक्रान्ति र देवराज लामा गरी तीन उपनामबाट परिचित छन् । भिडिओ सन्देशमार्फत अध्यक्ष साम्पाङले लामाको विगत पृष्ठभूमीबारे आफू अनविज्ञ रहेको बताएका छन् । ‘मैले बुझेको चाहिँ उहाँ माओवादी पार्टीमा आबद्ध भएर लामो समयसम्म विभिन्न राजनीतिक दल र अभियानहरूमा संलग्न हुँदै आउनु भएको भन्ने मात्र हो,’ साम्पाङले भने । साम्पाङले लामामाथि निष्पक्ष छानबिन गर्न आग्रह गर्दै भने, ‘उहाँ निर्दोष ठहर भएर बाहिर ननिस्कुञ्जेलसम्म पार्टीको पदबाट निलम्बन गरिएको जानकारी गराउन चाहन्छु ।’
