संसद विघटनविरुद्ध कांग्रेसको रिटमा सर्वोच्चको कारण देखाउ आदेश
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासले बुधबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको रिट निवेदक श्याम घिमिरेले जानकारी दिए । इसलासमा प्रधानन्यायाधीशका अलावा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशहरू कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदी सहभागी थिए ।
प्रतिनिधिसिभा विघटनअघि कांग्रेसको प्रमुख सचेतक रहेका श्याम घिमिरेसहित आठ पूर्व सांसदले दायर गरेको रिट ‘ज’ नम्बरमा पेशी चढेको थियो । सो रिटमा प्ररम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो । प्रतिनिधि सभा विघटन निर्णय बदर गर्न माग गर्दै कांग्रेसले मंसिर २१ गते सर्वोच्चमा रिट दायर गरेको थियो । नेकपा एमाले र अन्य कानून व्यवसायीले दायर गरेका रिट सर्वोच्चमा विचाराधीन छन् । भदौ २३–२४ को जेनजी आन्दोलनको बलमा बनेको सरकारले भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेको थियो ।
