बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा
म्याग्दी, ४ पुस : जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा पुगेको छ । हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भइसकेको छ । बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–पाखापानी सडकको किराखोर–नेप्टेचौर–तोरीपानी खण्डको स्तरोन्नतिका लागि सञ्चालित योजना निर्धारित समयअगावै सम्पन्न हुने चरणमा पुगेको हो ।
चार किलोमिटर दूरीको सडक ग्राभेल, ढलान र कालोपत्र गरी स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र मङ्गलादेवी–सुवास कन्ट्रक्सनबीच २०८१ साल जेठमा रु १० करोड १६ लाख एक हजार ३६४ मा ठेक्का सम्झौता गरेको थियो ।
दुई वर्ष ठेक्का अवधि रहेको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय प्रमुख डा महेन्द्र बानियाँले बताउनुभयो । बेनी नगरपालिका–९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्म करिब दुई किलोमिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र गर्नुपर्नेमा एक किलोमिटर बढी भइसकेको छ ।
नेप्टेचौर–तोरीपानी खण्ड ग्राभेल गर्न आवश्यक संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । तीन दशमलव पाँच मिटर चौडा सडकलाई कम्तीमा सात मिटर फराकिलो बनाइएको छ । निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीले निर्धारित समयअगावै योजना सम्पन्न गराउन पर्याप्त उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको बताउनुभयो ।
विसं २०५६ मा तत्कालीन जिल्ला विकास समितिले ट्रयाक खोलेको यो सडक २७ वर्षपछि स्तरोन्नति हुन लागेको हो ।
