`

नमूना सदरमुकामको काम निर्धारित समयमा सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

Nepal One HD ५ पुष २०८२ २१:४७
प्रमुख खबर

त्रिवेणी (नवलपरासी), ५ पुसः ऊर्जा ,जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा निर्माणाधीन नमूना सदरमुकामको काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

आज जिल्लाको कावासोती नगरपालिका–३ मा अवस्थित नमूना सदरमुकाम निर्माणस्थलको निरीक्षण गर्दै उहाँले काममा ढिलाइ नगरी निर्धारित समयमा सम्पन्न गर्न व्यवसायीलाई निर्देशन दिनुभएको हो ।

मन्त्री घिसिङले नमूना सदरमुकामको हालसम्मको प्रगतिको अवस्थाका बारेमा आयोजनासँग जानकारी लिनुभएको थियो । उहाँले निर्माणको चरणमा कुनै बाधाअड्चन भए त्यसलाई फुकाउन आफ्नो तत्तपरता रहने भन्दै काममा ढिलाइ नगर्न सराकार भएका सबैलाई आग्रह गर्नुभयो ।

सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका सूचना अधिकारी द्रोण कटवालले आयोजनाले हालसम्म गरेको कामको प्रगति र अवस्थाका बारेमा जानकारी दिनुभएको थियो । निर्माणको सुरुवाती चरणमा केही प्राविधिक समस्या आए पनि अहिले कुनै समस्या नरहेको उहाँले बताउनुभयो ।

नवलपुरको कावासोती–३ मा रहेको एक सय ८७ बिघा जग्गामा विसं २०७६ देखि सदरमुकाम निर्माण गर्न थालिएको हो । नमूना सदरमुकाम निर्माणस्थलमा हाल दुई वटा ठेक्काबाट अलगअलग कार्यालयका भवन निर्माण भइरहेका आयोजना कार्यालयले जनाएको छ ।

पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयको भवन र अन्य दुई वटा कार्यालय रहने गरी एउटा एकीकृत भवन निर्माण थालिएकामा अहिले थप भवन पनि बनाउन सुरु गरिएको आयोजनाका सूचना अधिकारी कटवालले जानकारी दिनुभयो ।

चौधरी कष्ट्रक्सनले रु ३० करोड ६५ लाख छ हजार ५२७ लागतमा जिल्ला प्रशासन कार्यालय र एउटा एकीकृत भवन निर्माण गरिरहेको छ । विसं २०८३ पुस २१ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी काम अघि बढिरहेको आयोजनाका सूचना अधिकारी कटवालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले दोस्रो चरणमा भ्याट बाहेक रु तीन अर्ब ६१ करोडको लागतमा सदरमुकाम निर्माणस्थलमा थप पूर्वाधार निर्माण थालिएको छ ।

समानान्तर–बुद्ध हिमाली जेभिले अहिले अदालत भवन, सरकारी वकिलको कार्यालय, सभाहल, तीन वटा एकीकृत भवन, ब्यारेक, आवासगृह, सदरमुकामस्थलको कम्पाउन्ड, निर्माणस्थलसँगै जोडिएको केरुङ्गे खोलामा तटबन्ध, सदरमुकामस्थलको मूल सडक कालोपत्र, खानेपानी र विद्युत् लाइन विस्तारलगायत काम गरिरहेको कटवालले बताउनुभयो । उहाँका अनुसार विसं २०८४ कात्तिक २८ गते निर्माण सम्पन्न गर्नेगरी गत वैशाख २९ गते सम्झौता भएको थियो ।

नवलपुरको नमूना सदरमुकाम निर्माणस्थलका लागि छुट्ट्याइएको एक सय ८७ बिघा जग्गामा सङ्घ र प्रदेशका सबै कार्यालय निर्माण हुनेछन् । अहिले सङ्घस्तरका कार्यालय निर्माण अघि बढेको छ भने प्रदेश मातहतका कार्यालय निर्माण सुरु भएका छैनन् ।

नमूना सदरमुकाम निर्माणको गुरुयोजना अनुसार यहाँ सङघ र प्रदेश मातहतका सबै कार्यालय, पार्किङ, बाटिका, २५ हजार दर्शक क्षमताको फुटबल खेलमैदान, १५ हजार दर्शक क्षमताको क्रिकेट खेलमैदान, कर्मचारीका लागि आवासगृह, अतिथिगृह, सभाहल, पुस्तकालय, खाजाघरलगायत संरचना निर्माण हुनेछन् । प्रारम्भिक गुरुयोजना अनुसार आयोजनाको कूल लागत रु १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *