सञ्चारमन्त्रीको दाबी : मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिँगै मुलुक निर्वाचनम होमिएको दाबी गरेका छन् । ठूला राजनीतिक दलहरुले निर्वाचनको वातावरण बनाउने नसकेको भन्दै सरकारको आलोचना भईरहेका बेला उनले सो दाबी गरेका हुन् । आइतबार सिंहदरबारमा आफूले सय दिनमा सम्पादन गरेका कामहरुबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहे रहेका मन्त्री खरेलले राजनीतिक दल, निर्वाचन आयोग, सरकार र जनता सबैतिर निर्वाचनको वातावरण छाएको बताए । उनले सरकारले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा काम गरिरहेको जिकिर समेत गरे ।
सञ्चारमन्त्री खरेलले सरकार जेन–जी आन्दोलनको मर्मअनुसार अघि बढेको समेत दोहोर्याए । उनले भने, ‘मुलुक अहिले चुनावमा होमिसकेको अवस्था छ । सबै राजनीतिक दल, निर्वाचन आयोग, सरकार र जनता सबैतिर अहिले चुनावको वातावरण छाएको छ । र आगामी फागुन २१ मा चुनाव हुने वातावरण बनिरहेको छ । त्यसको साथै सुशासनलाई आत्मासात गर्दै सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले कामहरु अघि बढाएको छ । भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा पनि सरकारको तर्फबाट गर्नुपर्ने कामहरु भइनै रहेको छ । सरकार समग्रमा यो नागरिक सरकार भएको कारणले जेन–जी आन्दोलनको मर्म अनुसार अघि बढेको म जानकारी गराउन चाहन्छु ।’ त्यस अवसरमा मन्त्री खरेलले आफूले सय दिनको अवधिमा उल्लेखनीय कार्य सम्पादन गरेको पनि बताए ।
मन्त्री जगदीश खरेलले अनलाईन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन् । मन्त्रालयमा आईतवार आयोजित छलफल कार्यक्रममा उनले सरकारले नीतिगत रुपमा सुधार गरेर नै अनलाईन टिभी मिडियाहरुसँग सरकारले सहकार्य गर्ने बताएका हुन् । उनले अनलाईन टिभी मिडिया न्यु मेन स्ट्रिम मिडिया भएको पनि बताए । उनले न्यु मेन स्ट्रिम मिडियाले देश र जनताको लागि ठूलो सहयोग गरेको पनि बताए । न्यु मेन स्ट्रिम मिडियालाई दर्ता प्रक्रियामा सहजीकरण, लोककल्याणकारी विज्ञापन, नविकरणमा सहजिकरण, तालिम, पुरस्कार लगायतका व्यवस्था सरकारले गर्ने बताए ।
उनले भने, ‘न्यु मेन स्ट्रिम मिडियाहरुले जे सहयोग गरिराख्नुभएको छ, देश र जनताको । त्यसमा म एकदमै आभारी छु, सरकार आभारी छ । सरकारले न्यु मेन स्ट्रिम मिडियालाई रिकक्नाईज गरेको, सम्मान गरेको, सहकार्यको हात अगाडि बढाएको यहाँहरुले पक्कै पनि महशुस गरिराख्नु भएकै होला । त्यो गर्ने नै हो, तपाईहरुसँग सहकार्य गर्ने हो । त्यसैले अब बाटो अगाडी बढाउनु पर्छ ।’ उनले नयाँ प्रविधि र अवधारणसहित सञ्चालनमा आएका युट्युव च्यानल, अनलाईल टेलिभिजनलाई सरकारले पनि सहयोग गर्न आवश्यक नीति बनाउन लागेको पनि जानकारी दिए ।
