राष्ट्रपतिको पहलमा ‘आइस ब्रेक’ : तीन पूर्व प्रधानमन्त्री आमने–सामने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल शुरू भएको छ । लामो समयदेखि देखिएको राजनीतिक तिक्तता कम गर्ने प्रयासस्वरूप यो भेटवार्ता आयोजना गरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
छलफलमा प्रधानमन्त्री कार्कीसँगै नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् । कार्की प्रधानमन्त्री बनेको १०० दिन नाघेपछि प्रमुख तीन दलका शीर्ष नेतासँगको यो पहिलो औपचारिक भेट हो । जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी कार्कीले यसअघि तीन शीर्ष नेतासँग भेट्न इच्छुक नभएको अभिव्यक्ति दिएकी थिइन् ।
सो अभिव्यक्तिपछि कांग्रेस, एमाले र नेकपामा असन्तुष्टि देखिएको थियो । यही पृष्ठभूमिमा राष्ट्रपति पौडेलले ‘आइस ब्रेक’ को प्रयासस्वरूप सबैलाई शीतल निवास बोलाएर संवादको वातावरण बनाएको बताइएको छ । जेनजी घटनापछि ओली र प्रचण्ड पनि पहिलोपटक एउटै बैठकमा आमनेसामने भएका हुन् । फागुन २१ गतेका लागि निर्वाचन गराउने सरकारको तयारी, संसद पुनःस्थापनाको मागसहित कांग्रेस र एमाले सर्वोच्च अदालत पुगेको अवस्था, र समग्र राजनीतिक गतिरोध छलफलका मुख्य एजेण्डा रहेको बुझिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेताहरूबीचको छलफल जारी छ र यसबाट राजनीतिक सहमतिको आधार तयार हुने अपेक्षा गरिएको छ । शीतल निवासमा जारी यो भेटलाई वर्तमान राजनीतिक अवस्थाको ‘टर्निङ प्वाइन्ट’ का रूपमा हेरिएको छ ।
