गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण
काँक्रेविहार (सुर्खेत) – गृहमन्त्री ओमप्रकाश अर्यालयले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण गर्नुभएको छ ।
कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि सुर्खेत आउनुभएका गृहमन्त्री अर्यालले भेरीगङ्गा नगरपालिका–११ मा निर्माणाधीन भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण गर्दै आयोजनामा देखिएका कानुनी अप्ठ्यारा फुकाउन सरकारले सहयोग गर्ने बताउनुभयो । उहाँले बाँकी काम समयमै सम्पन्न गर्न निर्देशनसमेत दिनुभयो ।
भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका डिभिजन इन्जिनियर भरत पाठकले आयोजनाले ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको मन्त्री अर्याललाई जानकारी दिनुभयो । उहाँले १२ किलोमिटर सुरुङ निर्माण कार्य पूरा भइसकेको बताउनुभयो । उहाँका अनुसार अब इलेक्ट्रोमेकानिकल हाइड्रोमेकानिकलको काम बाँकी छ । बुधबार बिहानदेखि सुरक्षा गोष्टीमा मन्त्री अर्याल सहभागी हुने कार्यक्रम रहेको छ ।
