बालेन–रवि आजै फेरि वार्ता, कुपण्डोल पुगे बाबुराम
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज फेरि भेटवार्ता हुने भएको छ । कुपण्डोलस्थित कुमार बेनको घरमा दिउँसो साढे दुई घण्टा लामो छलफल गरेका उनीहरू साँझ फेरि वार्तामा बस्ने तयारीमा छन् । गत सोमबार मध्यराती करिब ६ घण्टा लामो संवाद गरेको दुवै पक्षबीच अझै पूर्ण सहमति नजुटेको बताइएको छ । वार्तापछि सञ्चारकर्मीहरूले छलफलको परिणामबारे प्रश्न गर्दा रवि लामिछानेले ‘मेरो अनुहारले के बताइरहेको छ ?’ भनी प्रतिप्रश्न गरेका थिए ।
वार्ता अझै जारी रहेको र आवश्यक परेमा आफ्ना नेताहरूसँग छलफल गरी अन्तिम निर्णय गरिने स्रोतहरूले जनाएका छन् । त्यसैगरी, साँझ फेरि बालेनसँग भेटवार्ता गर्ने योजना रहेको पनि खुल्न आएको छ । बालेन शाहले पुराना पार्टीका असन्तुष्ट नेता, अभियन्ता, कलाकार र विभिन्न क्षेत्रमा भाइरल बनेका अनुहारहरूसँग वैकल्पिक शक्ति निर्माणमा सक्रियता देखाइरहेका छन् । हिजो उनी डा. भगवान कोइराला, पूर्वसचिव भीम उपाध्याय, राप्रपा नेता ज्ञानबहादुर शाहीसँग भेटघाटमा व्यस्त थिए ।
आज बिहान उज्यालो नेपालका नेता कुलमान घिसिङ, ३७ वर्षका जेनजी अगुवा सुदन गुरुङ, कांग्रेस नेता सुनिल शर्मा, पूर्व कांग्रेसी तथा विघटित प्रतिनिधिसभाका सांसद अमरेश कुमार सिंहलगायतसँग बालेनले भेटवार्ता गरेका छन् । त्यसै क्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पनि कुपण्डोल पुगेका छन् । उनी बालेनसँग छलफल गर्न त्यहाँ पुगेका हुन् । बालेनले यही घरमा यसअघि रास्वपा सभापति रवि लामिछानेसँग करिब ४ घण्टासम्म वार्ता गरेका थिए । राजनीतिक भेटघाटको यो शृङ्खला आगामी दिनमा नेपालको वैकल्पिक राजनीतिक शक्ति संरचनामा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ ।
