वैकल्पिक एकतामा लौरो-घण्टी लुकामारी, कसको पल्ला कति भारी ?
बुधबार दिउँसोदेखि नेपालको राष्ट्रिय राजनीतिमा नयाँ शक्तिकेन्द्रमा भइरहेका गतिविधिले चर्चा पाइरहेको छ- ज्वागलस्थित काठमाडौंका मेयर बालेन शाहका सल्लाहकार कुमार व्यञ्जनकारको निवास । बुधबार दिउँसोदेखि बिहीबार अँध्यारो हुँदासम्म व्यञ्जकार निवासमा पाकिरहेको व्यञ्जनको दर्शक/पाठकलाई पस्किन पत्रकारहरू प्रतिक्षा गरिररहेका थिए । तर, दुई दिनको रिले भेटघाटलाई नजिकबाट नियालिरहेका सञ्चारकर्मीले समेत भित्र के पाकिरहेको छ भन्ने भेउ पाउन सकिरहेका छैनन् । मेयर शाहलाई भेटेर निस्किएका प्राय: कसैले पनि मिडियासामू के छलफल भयो भन्ने बताइरहेका छैनन् । व्यञ्जनकार निवास बाहिर सडकमा उभिएका पत्रकारहरूको जिज्ञासाको केन्द्र भने रास्वपा सभापति रवि लामिछाने र मेयर शाहबीचको वार्ताबाट के निष्कर्ष निस्किन्छ भन्ने थियो ।
भदौ २३ र २४मा भएको जेन्जी आन्दोलनले मेयर शाहलाई राष्ट्रिय राजनीतिको केन्द्रमा ल्याइपुर्यायो । आन्दोलनपछि कुनैबेला उनका सल्लाहकार रहेका ओम अर्याल गृहमन्त्री बने भने उनै अर्यालको चाहनाअनुसार पूर्वप्रधानन्यायाधीश शुसिला कार्की प्रधानमन्त्री बनिन् । त्यसैले, धेरैले यो सरकारको डिजाइन पर्दापछाडिबाट बालेन शाहले गरेको मानिरहेका छन् ।
यतिमात्रै होइन, शाहले फेसबुकमा स्टाटस लेखेर प्रतिनिधि सभा विघटनको माग गरे । त्यसैअनुसार प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा विघटनको अडान लिइन्, जेनजी प्रतिनिधिले समेत उनलाई साथ दिएपछि राष्ट्रपति रामचन्द्र पौडेल राजनीतिक दलको समर्थन नहुँदानहुँदै पनि कार्कीको अडानमा सहमति जनाउन बाध्य भए । उनै शाहले सेनापतिसँग वार्ता गर्न तयार रहन उर्दी जारी गरेअनुसार जेनजी प्रतिनिधि जंगीअड्डामा वार्ता गर्न पुगे । त्यसैले पनि आन्दोलन र यसपछिको राजनीतिक घटनाक्रममा बालेन हाबी देखिन्छन् ।
जेनजी आन्दोलनबाट आर्जित शक्तिलाई उनी बागदरबार (जहाँ उनी काठमाडौंको मेयरका रुपमा पदासिन भएका थिए) बाट सिंहदरबार उक्लिने बाटो बनाउन चाहन्छन् । पुराना राजनैतिक दलहरूलाई चुनौति दिन वैकल्पिक र नयाँ शक्तिहरू मिलुन भन्ने समर्थकहरूको चाहना भए पनि यसपछि धरानका मेयर हर्क साङपाङ, ऊर्जा मन्त्री कुलमान घिसिङ र रास्वपाले अलग अलग बाटोमा यात्रा थाले ।
आन्दोलनपछिका दिनमा बालेन आफैं सक्रिय भएनन् । तर, उनले कुलमान घिसिङ र रास्वपा मिलेर गए आफ्नो समर्थन रहने सन्देश दिए । घिसिङले रास्वपाले आफूलाई प्रधानमन्त्रीको उम्मेद्वार मान्ने र सभापति दिने हो भने मिलेर जान तयार भएको प्रतिक्रिया दिए । यसमा कुलमान कार्यवाहक उपसभापतिसम्म मान्न तयार भएका थिए । तर, रास्वपाले कुलमानलाई प्रधानमन्त्रीको उम्मेद्वार मान्नेबारे छलफल गर्न सकिने तर पार्टीको नेतृत्व दिन नसकिने अडान राख्यो । रास्वपाका कतिपय नेताहरूले ‘पार्टी कब्जा गर्न’ खोजेको भन्दै सार्वजनिक रुपमै कुलमानको आलोचना गरे ।
यो प्रकृयामा बालेनले कुलमानको पक्षमा रहेको संकेत दिएर उनको ‘नेगोसिएसन पावर’ बढाइदिने काम गरे । ऊज्यालो नेपालमा सक्रिय कुलमान नजिकका मानिसहरूले बालेनको भर पर्न नसकिने सुझाव दिए पनि कुलमान आफैं भने बालेनप्रति विश्वस्त देखिएका थिए । लामो समयको छलफलपछि कुलमान संरक्षक रहनेगरी ऊज्यालो नेपाल पार्टी खुल्यो र उनीहरू संगठन बिस्तारमा लागे । उनीहरू रास्वपासँग मिल्न नसकिने निष्कर्षमा पुगिसकेका थिए ।
कुलमानलाई आश्वासन दिए पनि बालेन आफैं कुलमानको पक्षमा खुलेनन्, न त ऊज्यालो नेपाललाई समर्थन रहेको सार्वजनिक अभिव्यक्ति नै दिए। जेनजी आन्दोनलपछि रास्वपा छोडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ कुलमानसँग निरन्तर संवादमा थिइन् । तर, उनले पनि ऊज्यालो नेपाल पार्टीको सदस्यता लिन अस्वीकार गरिन् । यसपछि कुलमानको पार्टीमा केन्द्रीय सदस्य बन्न तयार भएका जेनजी अलाइन्सका ६ केन्द्रीय सदस्यहरूले पनि आफ्नो नाम फिर्ता लिए । उनीहरूले नाम फिर्ता लिनुको एउटा महत्वपूर्ण कारण बालेन र सुमना त्यो पार्टीमा नहुनु थियो ।
उनले न खुलेर आफूले रास्वपाबाट राजनीति गर्ने बताए न ऊज्यालो नेपाल पार्टीलाई समर्थन गर्ने बताए । बरू, जेनजी अगुवाहरूलाई समेत पर्खाएर आफ्नो शक्ति बचाएर राखे । उनी राजनैतिक रूपमा सक्रिय भएनन् । मंसिर तेस्रो साता पिताको निधन भएपछि उनी दुई साता घरमै रहे । अहिले जेनजी समूह, कुलमान घिसिङ तथा उज्यालो नेपाल लगायतलाई बालेनले आफ्नो शक्तिको आधार बनाइरहेका छन् ।
पिताको निधनअघि रवि लामिछानेसँग बालेनले अप्रत्यक्ष रुपमा संवाद गरिरहेका थिए । उनका सल्लाहकार कुमार बेन लामिछाने भेट्न पटकपटक नख्खु कारागार पुगेका थिए । ती छलफलमा के-के भयो भन्ने दुवै पक्षले सार्वजनिक गरेका छैनन् । अधिकांश भेटघाट गोप्य राखिएको थियो ।
वैकल्पिक र नयाँ शक्तिबीच एकताको कसरत चलिरहेकै बेला विवेकशील साझा र रास्वपाबीच एकता हुने समाचार बाहिरियो । तर, यो एकता भन्दा पनि विवेकशिल साझाका केही नेताको रास्वपा प्रवेश जस्तो भयो । अध्यक्ष समिक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार र रञ्जु दर्शना लगायतका केही नेता रास्वपा प्रवेश गरे । उनीहरूलाई रास्वपाले केन्द्रीय समितिमा समेत स्थान नदिएर संघीय नेतृत्व मञ्च नामक संरचना बनाएर थन्क्याएको छ । विवेकशील पार्टीका पूर्वअध्यक्ष मिलन पाण्डे लगायतका नेताहरू भने यो एकतामा समावेश नभएपछि आधा पार्टी रास्वपा भन्दा बाहिरै रह्यो ।
रास्वपा-विवेकशील एकताको समाचारसँगै कुलमान घिसिङ र बालेन शाह सँगै बसेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भयो । यसमा कुलमानले रास्वपालाई आफू कमजोर नभएको सन्देश दिएको अर्थमा बुझियो । तर, यो तस्बिरले रास्वपासँग बालेनको ‘बार्गेनिङ पावर’ पनि बढाएको थियो । मंसिर तेस्रो साता बालेनका पिताको निधन भएपछि उनी दुई साता घरमै रहे । यो बीचमा कुनै उल्लेखनीय घटना नभए पनि नख्खुमा रवि लामिछाने भेट्नेको लर्को लागिरह्यो भने पत्रकार राजिव खत्री लगायत रास्वपामा प्रवेश गरे ।
पिताको निधनपछि बालेन महानगर फर्किएको केही दिनमा नै तुलसीपुर जिल्ला अदालतले रास्वपा सभापति लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दियो । यसपछि रास्वपाको सक्रियता र आत्मविश्वास दुवै बढ्यो । राजनैतिक सक्रियता बढाएका लामिछानेले आइतबार नै मेयर शाहसँग भेट गरे । यसपछि सोमबार लामिछाने र शाहबीच करिब सात घण्टा वार्ता भयो ।
आइतबार राती प्रसारित एक टेलिभिजन अन्तर्वार्तामा रास्वपा नेता शिशिर खनालले रास्वपाले शाहलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर जान सक्ने बताएका थिए । त्यसैले, सोमबारकै वार्ताबाट निष्कर्ष निस्किने वा निष्कर्षको नजिक पुग्ने अपेक्षा गरेका थिए ।
मंगलबार तारिख धाउन चितवन पुगेका लामिछानेले बालेनलाई रास्वपाको प्रधानमन्त्री उम्मेद्वार बनाउने विषयमा छलफल नै नभएको दाबी गरे । यता बालेनको समूहले मेयर लड्दा स्वतन्त्र उम्मेद्वारका रुपमा उनले पाएको लौरो चुनाव चिन्ह भएको देशविकास पार्टीलाई अघि बढाउने कसरत थाल्यो । बुधबारबाट उनले व्यञ्जनकार निवासबाट उनले रिले भेटघाट सुरू गरे ।
बुधबार दिउँसोबाट भएको छलफलमा जेनजी नेताका रुपमा देखा परेका सुदन गुरूङदेखि जेनजी फ्रन्ट नेपालकी संयोजक रक्षा बम लगायतसँग बालेनले संवाद गरेका थिए । यस्तै राप्रपाका प्रवक्ता रहेका ज्ञानेन्द्र शाही, नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी, जनमत पार्टीका नेता सिके राउत र अमरेश कुमार सिंहसँग भेटघाट गरेका थिए ।
बिहाबार बिहान कुलमान घिसिङलाई भेटेर दोस्रो दिनको रिले भेटघाट थालेका शाहले यसपछि लामो समय रवि लामिछानेसँग बिताए । लामिछाने व्यञ्जनकार निवास पुगेलगत्तै उनको निवासबाहिर सञ्चारकर्मीको भीड लागेको थियो । तर, सधैं क्यामेरका अघि खुलेर बोल्ने लामिछानेले वार्तामा के भयो भन्ने बताएनन् । वार्ता कस्तो भयो भनेर पत्रकारले सोधेको जवाफमा ‘मेरो अनुहार देखिरहनु भएको छ नि?’ भनेर टारेका थिए । तर, उनको अनुहारमा उत्साह भन्दा पनि थकान देखिइरहेको थियो ।
लामिछाने निस्किनुअघि अमेरकुमार सिंह त्यहाँ पुगेका थिए भने लामिछाने निस्किएको केहीबेरमा रास्वपका अर्का नेता शिशिर खनाल बालेन भेट्न पुगेका थिए तर उनी करिब १५ मिनेटमा नै त्यहाँबाट निस्किएका थिए ।
साँझ पर्नेबेला पूर्वप्रधामन्त्री बाबुराम भट्टराई पनि बालेन भेट्न व्यञ्जनकार निवास पुगे । उनले पनि वैकल्पिक र नयाँ शक्तिहरू मिलेर जाने सुझाव दिएको बताएका छन् ।
यसपछि बालेनले केही समय जेनजी अगुवाहरूसँग बिताए । केहीबेरमा खगेन्द्र सुनारको प्रवेश भयो ।
बालेनसँग भेटेर निस्किएपछि सुनारले केहीबेर पत्रकारहरूसँग कुरा गरे पनि अरूले बालेनसँग के छलफल भयो भन्ने बताउन चाहेनन् । उनीहरू क्यामेरको भीड छिचोलेर निस्किन खोजिरहेका देखिन्थे ।
जेनजी अगुवाहरूसहितको देश विकास पार्टीलाई अगाडि बढाउने निर्णय र दुई दिनको रिले भेटघाट तथा विभिन्न व्यक्ति र समूहको समर्थनलाई रास्वपासँगको नेगोसिएसनको औजार बनाइरहेका छन् । बालेनको यो सक्रियता र शक्तिले लामिछानेमाथि दबाव थपिरहेका छन् ।
लामिछाने र बालेनबीच के-के कुरा भयो भन्ने बाहिर आएको छैन । अधिकांश समय ‘वान-टु-वान’ मिटिङ भएको र दुवै जनाले सार्वजनिक रूपमा केही नभनेको हुँदा उनीहरूबीच के-के सहमति भयो र के-के विषयमा विवाद छ भन्ने बाहिर आएको छैन ।
बालेन आफूलाई वैकल्पिक शक्तिहरूको तर्फबाट प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा अघि सार्न चाहन्छन् । रास्वपा सभापति लामिछानेमाथि सहकारी ठगीमा मुद्धा चलिरहेको र सांसद भए पनि मुद्धाको फैसला नभएसम्म उनको पद निलम्बनमै रहने हुँदा उनी आफैं प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा अघि सर्ने अवस्था छैन । यसलाई बालेनले अवसरका रुपमा हेरिरहेका छन् । आइतबार खनालले दिएको अभिव्यक्तिले पनि यसमा धेरै समस्या नरहेको संकेत गरेको छ ।
रास्वपा पक्षले बालेनसँग पार्टी नभएको र ठूलो टिम नभएको हुँदा समानुपातिक र प्रत्यक्षमा केही सिट छुट्याउने बित्तिकै बालेन ‘रास्वपा प्रवेश गर्ने’ अपेक्षा गरिरहेको थियो । तर, उनीहरूको अपेक्षा विपरित बालेन पक्षले बुधबारबाट नै समानुपातिक उम्मेद्वारहरूको सूची बनाइरहेको छ । सूचीमा सामाजिक प्रतिष्ठा आर्जन गरेका र समाजमा राम्रो छवि भएका मानिसहरूलाई समेटिएको छ ।
रास्वपासँग कुरा नमिले उनीहरूले एक सय १० जनाकै सूची निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरिरहेका छन् । रास्वपाले पनि समानुपातिकका आकांक्षीहरूबाट उम्मेद्वार छनोटको प्रकृया सुरू गरेको छ । यसले दुई पक्षबीचको लेनदेनलाई अझ जटिल बनाएको छ ।
फागुन २१मा हुने भनिएको निर्वाचनमा जेनजी समूहहरूलाई समेत समेटेर वैकल्पिक शक्तिहरू नमिल्ने हो भने पुरानै राजनैतिक दलहरू हाबी हुने कुरा सबै नयाँ, वैकल्पिक र स्वतन्त्रहरूले बुझेका छन् । धरानका मेयर हर्क साङपाङ श्रम संस्कृति पार्टी खोलेर चुनावी अभियानमा होमिइसकेका छन् भने उनले कसैसँग गठबन्धन नगर्ने बताइरहेका छन् । उनी नयाँ तथा वैकल्पिकहरूको एकताको कुनै कसरतमा सामेल छैनन् ।
यता, रास्वपा, बालेन र कुलमानबीच सहमति हुन नसक्ने हो भने वैकल्पिक शक्तिहरूले एकआपसमा भोट काट्ने र पुराना दललाई सहयोग पुग्ने भन्दै समर्थकहरू चिन्तित भइरहेका छन् । यो चिन्ताले यी तीन पक्षबीच मिल्नै पर्ने दबाव छ । बालेनले प्रमुख जेनजी समूहहरूलाई आफ्नो पक्षमा लिइसकेका छन् भने निरन्तर भेटघाटबाट रास्वपामाथि दबाव सिर्जना गरिरहेका छन् ।
रास्वपालाई पुराना शक्तिहरू कमजोर र अझ अलोकप्रीय भएको वर्तमान अवस्थामा आफ्नो पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने विश्वास छ ।
यी दुई शक्तिहरूबीच कसरी लेनदेन मिलेर एक ठाउँमा उभिन्छन् त ? अहिले चासोका साथ यो प्रश्नले जवाफ खोजिरहेको छ ।
बिहीबार राती हुने भनिएको रवि-कुलमान-बालेन भेटले यो प्रश्नको जवाफ देला त ? व्यञ्जनकार निवासमा भएको दुई दिने रिले भेटले नेपाली राजनीतिमा नयाँ व्यञ्जन पकाउला त?
