`

मेयरबाट प्रधानमन्त्रीको बाटो बनाउँदै बालेन, पार्टी कार्यालय नै खोलेर सक्रिय

Nepal One HD ११ पुष २०८२ ८:१९
प्रमुख खबर

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले औपचारिक रूपमा दलीय राजनीतिमा प्रवेशको घोषणा गर्दै नयाँ राजनीतिक शक्ति निर्माणको तयारी तीव्र पारेका छन् । रास्वपा, उज्यालो नेपाललगायत दलसँग सहकार्यको प्रयास चलिरहेकै बेला बालेनले वैकल्पिक योजना स्वरूप आफ्नै पार्टी सञ्चालन गर्ने निष्कर्षसहित पार्टी कार्यालय समेत स्थापना गरिसकेका छन् ।

ललितपुरको ज्वागलमा ‘देश विकास पार्टी’ नामक दलको कार्यालय खोलिएको छ । निर्वाचन आयोगमा दर्ता भइसकेको यस पार्टीको चुनाव चिह्न ‘लौरो’ नै छ, जुन चिह्नबाट बालेन २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौँका मेयर निर्वाचित भएका थिए । पार्टीकी अध्यक्ष सन्ध्या खनाल छिन् । बालेन निकट स्रोतका अनुसार उज्यालो नेपाल र रास्वपासँगको वार्ता निर्णायक मोडमा नपुगे स्वतन्त्र रूपमा अघि बढ्ने तयारी पहिल्यै गरिएको थियो ।

यही सन्दर्भमा बिहीबार बालेनले बिहानदेखि साँझसम्म ‘म्याराथन मिटिङ’ गर्दै विभिन्न राजनीतिक दलका नेता, जेन–जी प्रतिनिधि र पूर्व विवेकशील साझाका नेताहरूसँग लगातार छलफल गरे । कुपण्डोलस्थित आफ्ना निकट सहयोगी कुमार व्यञ्जनकारको निवास र ज्वागल क्षेत्र केन्द्र बनाएर भएको भेटवार्ताले बालेन अब संसदीय राजनीतिमा सक्रिय हुने स्पष्ट सन्देश दिएको छ ।

दिनको सुरुआत ऊर्जा क्षेत्रमा चर्चित नाम कुलमान घिसिङसँगको भेटबाट भयो । उज्यालो नेपाल पार्टी खोलेर राजनीतिमा आएका घिसिङ र बालेनबीच सहकार्य लगभग टुंगिएको बताइन्छ । पार्टी एकता वा उज्यालो नेपाललाई निष्क्रिय बनाएर घिसिङ देश विकास पार्टीमा समाहित हुने विकल्पमाथि छलफल भएको स्रोतको दाबी छ ।

त्यसपछि बालेनले कांग्रेस नेता सुनील शर्मा, रास्वपाका सभापति रवि लामिछाने, पूर्व सांसद अमरेशकुमार सिंह र रास्वपाका पूर्व सांसद शिशिर खनालसँग भेट गरे । विशेष गरी रवि लामिछानेसँगको भेटलाई चासोका साथ हेरिएको छ । यसअघि नै बालेनलाई प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा अघि सार्ने प्रस्ताव आएको भनिए पनि बिहीबारको भेटवार्ता निष्कर्षविहीन रह्यो ।

राजनीतिक दलका नेतासँगै बालेनले जेन–जी अभियानका अगुवा व्यक्तिहरूसँग पनि लामो संवाद गरे । रक्षा बम, रोहनराज दंगाल, युजन राजभण्डारी, सुदन गुरुङलगायत युवाहरूलाई भेट्दै उनले ‘स्वच्छ छवि भएकाहरू अगाडि आउनु पर्छ’ भन्दै नयाँ राजनीतिक अध्याय सुरु भएको बताएका छन् । २५ वर्ष पूरा गरेका युवालाई निर्वाचनमा उम्मेदवार बनाउने र जिम्मेवारी बाँडफाँडबारे छलफल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

साँझतिर बालेनले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनारसँग भेटवार्ता गरे । भट्टराईले नयाँ र वैकल्पिक शक्तिहरू एकजुट हुनुपर्ने सुझाव दिए भने सुनारले बालेनले आफू राजनीतिमा आएको र सहयोग अपेक्षा गरेको जानकारी दिए । लगातारको भेटघाटमा बालेनले आफू एक्लै चुनाव लडेर परिवर्तन सम्भव नभएको भन्दै १६४ निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । समानुपातिक सूची बुझाउने समय नजिकिँदै गर्दा देश विकास पार्टीले करिब ११० क्षेत्रमा उम्मेदवार तय गर्ने तयारी गरिरहेको बताइन्छ ।

मेयरको भूमिकाबाट राष्ट्रिय राजनीतितर्फ उक्लने तयारीमा देखिएका बालेनले ‘सबै नयाँ शक्ति मिलेर चुनावमा जानुहोस्’ भन्ने आह्वान गरेका छन् । ज्वागलबाट सुरु भएको यो राजनीतिक अभ्यासले आगामी निर्वाचनमा कस्तो रूप लिन्छ, त्यो भने अबको केही साताले स्पष्ट पार्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *