प्रधानमन्त्रीलाई विप्लवको प्रश्न : चुनाव गर्न चाहेको कि युद्ध ?
काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आफ्नो पार्टीलाई युद्धमा धकेल्ने प्रयास गरिरहेका भन्दै आपत्ति जनाएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको कपिलवस्तु र अर्घाखाँचीमा रहेको श्रम शिविरहरुमा प्रहरीहरुले अपरेशन गरेर सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा नभई युद्धमा होम्ने चेष्टा गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
उनले सो ठाउँमा रहेका प्रहरी तत्काल फिर्ता बोलाउने काम नगरे सरकारविरुद्ध कडा संघर्षमा होमिने चेतावनी समेत दिए । सरकारले चुनाव गर्न चाहेको हो कि युद्ध ? प्रधानमन्त्री कार्कीलाई विप्लवको प्रश्न थियो । उनले सो ठाउँबाट प्रहरी फिर्ता बोलाउने र अपरेशनमा जाने काम गलत थियो भनेर माफी नमागे सरकारले ठूलो मूल्य चुकाउनु पर्ने समेत चेतावनी दिए ।
महासचिव विप्लवले भने, ‘हाम्रो केन्द्रिय कम्युनमा प्रहरीहरुको अपरेशन भयो । हामी सुशीला कार्कीलाई यहीबाट थ्रेट गर्न चाहन्छौँ–राम्रोसँग सुन–तिमीले चुनाव गर्न चाहेको हौं कि युद्ध गर्न चाहेका हौं ? यो कुराको फैसला चाहिन्छ । तिमीले सोचेको होला–माओवादीलाई यसोउसो दवाव हालेर यहाँ सायद पत्रकार साथीहरु पनि आउनु भएको छ । राम्रोसँग सुन । गृहमन्त्री, सुशीला राम्रोसँग सुन । हामी त शान्तिपूर्ण ढंगले प्रतिष्पर्धामा उत्रिएका छौँ । शान्तिपूर्ण ढंगले यो राज्य हामीलाई दिनुस् भनेर नेपाली जनतालाई अपिल गर्दैछौ ।’
उनले भने, ‘चुनावमा जाने तयारी गर्दैछौँ । हामी त दर्ता गरेर सबै मूल्य मान्यता पालना गरेर निर्वाचनमा जान खोज्दैछौँ नि । यतापटीको हाम्रो इमान्दारिता, स्वाभिमानता, साम्राज्यवादीहरुसँगको हाम्रो लडाईलाई, यहाँको दलालसँगको हाम्रो लडाईलाई घुमाउरो तरिकाले सोचेर हिजोको रोल्पामा रोमियो अपरेशन गरेर जनयुद्ध जन्माएको जस्तो यदि तिमीले अर्को परिकल्पना गरेका छौँ र हाम्रो केन्द्रिय कम्युनबाट तुरन्तै पुलिस फिर्ता गरेनौ र त्यहाँ भएका सबै गल्तीमा माफी मागेनौ भने चर्को मूल्य चुकाउनु पर्छ भन्ने हामी भन्न चाहन्छौँ ।’ महासचिव विप्लवले निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने समेत घोषणा गरे ।
