३ दलका शीर्ष नेतासँग छलफलमा प्रधानमन्त्री
काठमाडौँ । आगामी फागुन २१ का लागि तोकिएको निर्वाचनका लागि वातावरण बनाउने सिलसिलामा प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल सुरु गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालसँग संवाद थालेकी हुन् । प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीचको पछिल्लो तिक्तताका कारण उत्पन्न गतिरोध हटाउन गत पुस ८ गते राष्ट्रपति रामचन्द्र पौडेलले पनि उनीहरुको भेटवार्ता गराउन सहजीकरण गरेका थिए । राष्ट्रपति पौडेलले आफ्नो रोहबरमा प्रधानमन्त्रीसहित देउवा, ओली र दाहाललाई सँगै राखेर जेन-जी आन्दोलनपछि विकास भएको सरकार र प्रमुख तीन दलबीचको विकसित संवादहीनता तोडेका थिए ।
प्रमुख तीन दलका नेताहरूले सुरक्षास्थिति सुदृढ बनाउन, एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखकलाई लगाइएको स्थानहद फुकुवा गरेर चुनावी वातावरण बनाउनुपर्ने माग गर्दै आइरहेका छन् ।
