दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै, सभापति रवि, बालेन प्रधानमन्त्रीको उम्मेदवार
काठमाडौं । नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच बृहत् एकताको सहमति भएको छ । लामो समयको छलफल र रातभर चलेको वार्तापछि दुवै पक्ष ७ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै एउटै राजनीतिक धारमा उभिन सहमत भएका हुन् ।
सहमतिअनुसार एकतापछि पनि दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ । पार्टीको झण्डा साबिककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टीको आकृतिसहित कायम रहनेछ भने चुनाव चिन्ह ‘घण्टी’ नै हुनेछ । केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने व्यवस्था गरिएको छ । पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन् भने आगामी प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सारिनेछ।
सहमति पत्रमा नवयुवाहरूले भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध उठाएको आन्दोलनको भावना आत्मसात् गर्ने उल्लेख छ । आन्दोलनका क्रममा घाइते भएका तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता पनि दुवै पक्षले व्यक्त गरेका छन् । साथै नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन हासिल गर्दै आगामी दस वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यसहितको मार्गचित्र इमानदारीपूर्वक कार्यान्वयन गर्ने सहमति भएको छ ।
एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप सुदृढ र फराकिलो बनाइने उल्लेख गरिएको छ । यस क्रममा युवा अभियन्ता, प्राविधिक विज्ञ तथा अनुभवी व्यक्तित्वहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानेर जिम्मेवारी दिइनेछ । लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा केन्द्रित भई अन्य परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा गोलबद्ध हुन आह्वान गर्ने निर्णय गरिएको छ ।
सहमति कार्यान्वयनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी आवश्यक दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गरिने छ । नेतृत्व, सिद्धान्त र चुनाव चिन्ह ‘घण्टी’मा एकीकृत हुँदै वैकल्पिक राजनीतिलाई संस्थागत गर्ने लक्ष्य दुवै पक्षले अघि सारेका छन् ।
हस्ताक्षर कार्यक्रममा रास्वपाका तर्फबाट स्वर्णिम वाग्ले, डिपी अर्याल, शिशिर खनाल र असिम शाह सहभागी थिए भने बालेन पक्षबाट कुमार बेन, केपी खनाल, निश्चल बस्नेत, भुपदेव शाह र सुदिप ढकालको उपस्थिति रहेको थियो । यो एकताले आगामी निर्वाचन र समग्र नेपाली राजनीतिमा नयाँ बहस र सम्भावनाको ढोका खोलेको विश्लेषण हुन थालेको छ ।
यी हुन् सात बुँदे सहमति

