रास्वपामा बालेनलाई सभापति रवि पछिको वरीयता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा काठमाडौं महानगरपालिका मेयर बालेन शाह रवि लामिछाने पछिको वरियतामा रहने भएका छन् । आज (आइतबार) बिहान रास्वपा सभापति रवि लामिछाने र बालेन शाहबीच ७ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । उक्त सहमति अनुसार बालेन शाहलाई आगामी निर्वाचनमा रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार र निर्वाचनपछि संसदीय दलको नेता बनाउने छ ।
तर सहमतिमा बालेन शाह रास्वपामा कुन जिम्मेवारीमा रहने भन्ने विषयमा केही उल्लेख छैन । बालेन निकट केपी खनालका अनुसार बालेनलाई रास्वपामा दोस्रो वरीयता दिने सहमति छ । ‘भावी प्रधानमन्त्रीको उम्मेद्वार र संसदीय दलको नेता हुने भएकाले उहाँ पार्टीमा दोस्रो वरीयतामा रहनु हुन्छ,’ बालेनका निकट केपी खनालले सुनाए, ‘मेयर बालेनले कुनै पदको कुरा वार्तामा गर्नु भएको छैन । उहाँले देशलाई निकास दिनुपर्छ भन्ने हिसाबले कुरा गर्नुभएको थियो । तर भावी प्रधानमन्त्रीको हिसाबले उहाँ सभापति रवि लामिछानेपछिको वरीयतामा रहनुहुन्छ ।’
सहमतिमा केन्द्रीय समितिमा बालेन पक्षका को को र कति जना सहभागी हुने भन्ने विषय उल्लेख गरिएको छैन । तर युवा अभियन्ता र अनुभवी विज्ञलाई समायोजन गर्ने भनिएको छ । ‘एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,’ सहमतिमा उल्लेख छ ।
