सकियो सभामुख–उपसभामुखको पदावधि : घिमिरेले निवास छोड्दै, रानाले गाडी फर्काइन्
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको पदावधि औपचारिक रूपमा समाप्त भएको छ । प्रतिनिधि सभा निर्वाचनको कार्यतालिकासँगै संविधानको व्यवस्था अनुसार उनीहरूको कार्यकाल गए राति १२ बजेदेखि सकिएको हो । सभामुख देवराज घिमिरेले कार्यकाल सकिएसँगै सरकारी निवास छोड्ने तयारी थालेका छन् । उनका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार संसद् पुनस्र्थापनासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले प्रक्रियागत जटिलता नआओस् भन्ने उद्देश्यले घिमिरेले सार्वजनिक विदाइ कार्यक्रम नगरी जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन् ।
‘मुद्दा अदालतमा पुगेको अवस्थामा सार्वजनिक रूपमा घोषणा गरेर बिदा हुँदा पछि जवाफ दिन अप्ठ्यारो पर्न सक्छ भन्ने बुझाइका साथ उहाँ शान्त रूपमा बिदा हुन लाग्नु भएको हो’, अधिकारीले भने । उनका अनुसार अब घिमिरे कार्यालय जाने छैनन् र निजी आवासमा सर्ने तयारी समेत पूरा भइसकेको छ ।
संविधानमा प्रतिनिधि सभा विघटन भएको अवस्थामा बहाल रहेका सभामुख र उपसभामुख अर्को प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दिने अघिल्लो दिनसम्म मात्र पदमा रहने व्यवस्था छ । यही व्यवस्थाअनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रक्रियासँगै उनीहरूको पदावधि समाप्त भएको हो । अहिले निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउने काम भइरहेको छ ।
यसैबीच, उपसभामुख इन्दिरा रानामगरले पनि कार्यकाल समाप्त भएसँगै आफूले प्रयोग गर्दै आएको सरकारी गाडी संसद् सचिवालयलाई फिर्ता गरेकी छन् । उनले आफूलाई उपलब्ध गराइएका दुवै गाडीको साँचो बुझाउँदै सुरक्षासम्बन्धी गम्भीर गुनासो समेत व्यक्त गरिन् । रानामगरका अनुसार एउटा बीवाईडी गाडी र अर्को २२ वर्ष पुरानो ल्याण्डक्रुजर उनको प्रयोगमा थियो । ‘बीवाईडी गाडीको स्क्रिन स्पष्ट नदेखिने समस्या थियो, पटक–पटक दुर्घटनाको जोखिम भयो’, उनले भनिन्, ‘यसले धेरै पटक ठोक्किने अवस्था आयो, झण्डै मेरो ज्यानै जाने स्थिति पनि आयो । आज म यी दुवै गाडी फिर्ता गर्दैछु ।’ सभामुख र उपसभामुख दुवैको कार्यकाल समाप्त भएसँगै प्रतिनिधि सभाको नेतृत्व नयाँ राजनीतिक समीकरण र निर्वाचनपछिको परिणामअनुसार तय हुने भएको छ । अहिलेका लागि भने संसद्को शीर्ष नेतृत्वले औपचारिक जिम्मेवारीबाट विदा लिएसँगै राजनीतिक ध्यान निर्वाचन प्रक्रियातर्फ केन्द्रित भएको छ ।
