काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका रिट निवेदनहरू सर्वोच्च अदालतमा दर्ता भई एकैसाथ सुनुवाइको प्रक्रियामा प्रवेश गरेका छन् । विभिन्न राजनीतिक दल र स्वतन्त्र सांसदहरू गरी १४३ जना सांसदको हस्ताक्षरसहित दायर गरिएको रिट सर्वोच्च अदालतले मंगलबार दर्ता गर्दै भोलिका लागि पेसी तोकेको छ । पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता खम्बबहादुर खातीका अनुसार एउटै विषयसँग सम्बन्धित रिट निवेदनहरूलाई एकै ठाउँमा राखेर बहस गर्ने कानुनी प्रावधानअनुसार प्रतिनिधि सभा विघटनसम्बन्धी सबै निवेदनमाथि संयुक्त रूपमा सुनुवाइ हुन लागेको हो। उनका अनुसार यसअघि पनि सोही विषयमा परेका रिटहरूमाथि सर्वोच्चले प्रारम्भिक सुनुवाइ गरिसकेको छ ।
दर्ता भएको मुख्य रिटमा नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी, जसपा र स्वतन्त्र सांसदहरू गरी कुल १४३ जनाले हस्ताक्षर गरेका छन् । विवरणअनुसार कांग्रेसका ६५, एमालेका ७५, जसपाका २ र एक जना स्वतन्त्र सांसद उक्त रिटमा सहभागी छन् । यसअघि कांग्रेस र एमालेले अलग–अलग रूपमा दायर गरेका रिटमाथि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । यसै विषयलाई लिएर संसद् पुनःस्थापनाको मागसहित थप ६० जना निवर्तमान सांसदले पनि सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका छन् । तीमध्ये नेपाली कांग्रेसका ५७ जना रहेका छन् भने जनमत पार्टीका गोमालाभ सापकोटा, जसपाकी हसीना खातुन र स्वतन्त्र रूपमा निर्वाचित योगेन्द्र मण्डल पनि निवेदनमा सहभागी छन् ।
खातीका अनुसार सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४७ (२) बमोजिम आफूहरू सरोकारवाला भएको दाबी गर्दै ती निवर्तमान सांसदहरूले यसअघि कांग्रेसले दायर गरेको रिटमा समर्थन जनाएका हुन् । यस प्रकारको निवेदनमा अलग्गै कारण देखाउ आदेश वा थप लिखित जवाफ आवश्यक नपर्ने कानुनी व्यवस्था रहेको उनले स्पष्ट पारे । यसअघि नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, सचेतक सुशीला थिङसहित ८ जनाले पनि सर्वोच्चमा निवेदन दर्ता गराएका थिए ।
कांग्रेसले दायर गरेको मूल रिटमाथि भने सर्वोच्चले यसअघि नै कारण देखाउ आदेश जारी गरी सरकारसँग लिखित जवाफ माग गरिसकेको छ ।
खातीका अनुसार प्रतिनिधि सभा विघटनसम्बन्धी सबै रिट निवेदनमाथि बुधबार संवैधानिक इजलासमा एकैसाथ सुनुवाइ हुने तय भएको छ । यद्यपि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उनकी पत्नी आरजु राणा देउवा, नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा विमलेन्द्र निधिले भने यी निवेदनहरूमा हस्ताक्षर गरेका छैनन् । प्रतिनिधि सभा विघटनको संवैधानिकता र संसद् पुनःस्थापनाको मागलाई लिएर सर्वोच्च अदालतमा केन्द्रित भएको यो बहसले अब राजनीतिक र संवैधानिक दुवै दृष्टिले महत्वपूर्ण मोड लिने देखिएको छ ।
