मोहन बस्नेत मुछिएको टेरामक्स भ्रष्टाचारमा विशेषले माग्यो सर्वोच्चका दुई आदेश
काठमाडौँ । टेरामक्स भ्रष्टाचार प्रकरणको मुद्दामा विशेष अदालतले सर्वोच्च अदालतका दुई आदेश झिकाएको छ । आज (आइतबार) विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासले यसैसँग सम्बन्धित सर्वोच्चका दुईवटा आदेश मगाउन भनेको हो । यस भ्रष्टाचारका मुद्दामा नेपाली कांग्रेसका नेता एवम् पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत जोडिएका थिए ।
उनले नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) उपकरण तथा प्रणाली खरिदमा भ्रष्टाचार गरेको आरोप थियो । गत वर्ष जेठ १ गते अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सञ्चारमन्त्री बस्नेतसहित १६ जनाउपर भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । यस प्रकरणमा ३ अर्ब २१ करोड ८३ लाख घोटाला गरेको आरोप रहेको छ । २०७६ जेठ २० गते दायर रिटमा सर्वोच्च अदालतले २०७८ वैशाख १४ गते आदेश दिएको थियो ।
यही विषयसँग सम्बन्धित अर्को रिट निवेदनमा भएको आदेशको प्रमाणित प्रतिलिपि पनि सर्वोच्चबाट झिकाउन विशेष अदालतले आदेश दिएको हो । यस्तै यही भ्रष्टाचार मुद्दासँग सम्बन्धित विषयको अनुसन्धानको क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट नियुक्त टेलिकम्युनिकेसन विज्ञ केशव ज्ञवालीसँग बुझ्नुपर्ने देखिएकाले उनलाई बकपत्रका लागि इजलासमा पेश गर्न पनि आदेशमा भनिएको छ ।

