`

नेकपाको समानुपातिक सूचीमा नयाँ अनुहार मात्रै

Nepal One HD १४ पुष २०८२ ११:३०
प्रमुख खबर

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा र राष्ट्रियसभाको समानुपातिक प्रणालीतर्फ यसअघि सांसद भइसकेका वा मन्त्री बनेका कसैलाई पनि समावेश नगर्ने निर्णय गरेको छ । पार्टीको शीर्ष नेतृत्वबीच भएको सहमतिअनुसार यस पटक समानुपातिक सूचीमा पूर्ण रूपमा नयाँ अनुहारहरू मात्रै पठाइने भएका छन् ।

संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसहित पार्टीका शीर्ष नेताहरूबीच आज बिहान भएको छलफलले उक्त मापदण्डलाई अन्तिम रूप दिएको हो । सो निर्णयअनुसार अघिल्ला निर्वाचनमा प्रत्यक्ष वा समानुपातिक प्रणालीबाट निर्वाचित भएका नेताहरूलाई यसपटक सिफारिस सूचीमा नराखिने स्पष्ट गरिएको छ ।
पार्टीका एक नेताका अनुसार, नयाँ मापदण्ड लागू भएपछि समानुपातिक उम्मेदवारको बन्दसूची तयार गर्न सहज भएको छ । आज समानुपातिकतर्फको बन्दसूची बुझाउने अन्तिम दिन रहेकाले नेकपाले अन्य दलभन्दा फरक अभ्यास गर्दै सबै नयाँ अनुहारलाई अवसर दिने निर्णय गरेको जनाएको छ।

समानुपातिक उम्मेदवारको अन्तिम टुंगो संयोजक दाहाल र सहसंयोजक नेपालले लगाइरहेका छन् । पार्टीको यो निर्णयलाई आन्तरिक लोकतन्त्र सुदृढ गर्ने र नयाँ नेतृत्व विकास गर्ने प्रयासका रूपमा हेरिएको छ । यसअघि २०७९ सालको निर्वाचनमा समानुपातिक प्रणालीअन्तर्गत माओवादी केन्द्रबाट १४, एमालेबाट ३४, कांग्रेसबाट ३२, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ८ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ७ जना उम्मेदवार निर्वाचित भएका थिए । यस पटक नेकपाको निर्णयले समानुपातिक राजनीतिमा नयाँ अनुहारको प्रवेशलाई प्राथमिकता दिएको संकेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *