`

नेटोसँग किन चिढिन्छ रुस?

Nepal One HD १४ पुष २०८२ १५:३४
प्रमुख खबर

काठमाडौँ । नेटो एउटा उत्तर एटलान्टिक सैन्य गठबन्धन हो, जुन सन् १९४९ मा १२ देश मिलेर गठन गरेका थिए । ती देशमा बेल्जियम, क्यानडा, डेनमार्क, फ्रान्स, आइसल्यान्ड, इटली, लक्जेमबर्ग, द नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, यूके र अमेरिका रहेका थिए। 

कुनै एक सदस्य राष्ट्रविरुद्ध अर्को कुनै देशले सशस्त्र हमला भए एकअर्कालाई सैन्य सहायता गर्ने उधेश्य सहित तत्कालीन अवस्थामा ती राष्ट्रहरूले नेटोको गठन गरेका थिए। 

नेटोको उद्देश्य युरोपमा दोस्रो विश्व युद्धपछिको रुसको विस्तारले दिने खतराविरुद्ध लड्नु थियो। सन् १९५५ मा सोभियत रुसले नेटो गठनप्रति प्रतिक्रिया जनाउँदै पूर्वी युरोपेली कम्युनिस्ट देशहरूको सैन्य गठबन्धन वार्सा प्याक्ट बनाएको थियो ।

सन् १९९१ मा सोभियत सङ्घ विघटन भएपछि वार्सा प्याक्टका केही पूर्वसदस्यहरूले आफ्नो कित्ता परिवर्तन गरेर नेटोका सदस्य बने । अहिले नेटो गठबन्धनमा ३० राष्ट्र छन् । 

रुस किन चिढिन्छ नेटोसङ्ग ?

२०२२ मा सुरु भएको युक्रेन-रुस युद्धपछि नेटो अहिले आफ्नो इतिहासकै गम्भीर संकटमा छ । कुनै बेला अमेरिका र युरोपियन युनियनको महत्वपूर्ण दस्ता मानिने नेटोले रुस-युक्रेन युद्धमा प्रभावशाली भूमिका खेल्न नसकेको भन्दै अहिले अमेरिका पनि नेटोसँग रुष्ट रहेको बताइन्छ । 

युक्रेनमाथि रुसको आक्रमणले नेटोको ७३ वर्षको इतिहासमा सबैभन्दा ठूलो चुनौती खडा गरेको छ । यो युद्ध नेटो क्षेत्रको पूर्वी सिमानाको छेउमा भइरहेको छ र धेरै नेटो सदस्य राष्ट्रहरूले रूसले उनीहरूमाथि थप आक्रमण गर्न सक्ने महसुस गरिरहेका छन्।

नेटोले रुससँगको लडाईका लागि निरन्तर रुपमा पूर्वी युक्रेनमा थप सेना तैनाथ गरिरहेको छ । तर, बेलायत र अमेरिकाले युक्रेनमा आफ्ना सेना पठाउने कुनै मनसाय नभएको पनि स्पष्ट पारिरहेका छन् ।

युक्रेन एक भूतपूर्व सोभियत गणतन्त्र हो, जुन एकातर्फ रुस र अर्कोतर्फ युरोपेली संघसँग जोडिएको छ। युक्रेनमा रूसी मूलका मानिसहरूको ठूलो जनसंख्या छ र रूससँग सामाजिक र सांस्कृतिक सम्बन्ध छ।

रणनीतिक हिसाबले रुसले यसलाई आफ्नो हिस्सा ठान्दै आएको छ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि निरन्तर रुपमा युक्रेन वास्तवमा रुसको हिस्सा भएको बताउँदै आएका छन् । तर, पछिल्ला वर्षहरूमा युक्रेन पश्चिमतर्फ नजिकिँदै गएको छ । नेटोको कारण युक्रेन विवाद झन् बढ्दै गएको दाबी रुसले गर्ने गरेको छ । यसमा अमेरिकाले प्रमुख रुपमा हस्तक्षेपकारी भूमिका खेल्दै आएको छ । अमेरिकाले नेटोमार्फत युक्रेनलाई आर्थिक र सैन्य सहयोग पनि गर्दै आएको छ । जुन कारणले रुस-युक्रेन युद्ध लम्बिँदै गएको रुसको बुझाई छ । यसै कारण पनि रुस नेटोसँग चिढिँदै आएको छ । 

रुस-युक्रेन युद्धविरामका लागि युक्रेनले आफ्नो केही भुभाग रुसलाई सुम्पिनु पर्ने र नेटोबाट अलग हुनुपर्ने माग रुसले दोहोर्‍याउँदै आएको छ।   


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *