रास्वपाको ११० समानुपातिक सूचीमा प्रकाश सपुतदेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसम्म (सूची)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि ११० जनाको समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा दर्ता गराएको छ । सोमबार राति बुझाइएको सूचीमा कला, खेल, राजनीति र विभिन्न सामाजिक समुदायका चर्चित तथा प्रतिनिधिमूलक व्यक्तिहरूलाई समेटिएको छ ।
रास्वपाको सूचीमा चर्चित गायक प्रकाश सपुत, क्रिकेटर ज्ञानेन्द्र मल्ल, फिल्म निर्माता आसिफ साह जस्ता नामहरू परेका छन् । यससँगै हालै एकताका लागि सहमति भएको उज्यालो नेपाल पार्टीका नेताहरूको रोस्टर पनि समावेश गरिएको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय, अभिनेत्री रिमा विश्वकर्मा, डा. महेन्द्र लावती, अभिषेकराज सिंह, मनीषा कुमारी, सोमप्रसाद चौधरी, सीतादेवी पाण्डे, सरला लामिछाने, दुर्गाबहादुर घिमिरे र बालिका चौधरी सूचीमा छन् ।
समुदायगत क्लस्टर अनुसार आदिवासी जनजाति पुरुषतर्फ डा. राम रामा पहिलो नम्बरमा रहेका छन् भने क्रिकेटर ज्ञानेन्द्र मल्ल पाँचौं नम्बरमा परेका छन् । आदिवासी जनजाति महिलातर्फ टासी लाजोम पहिलो नम्बरमा छन् । खस आर्य समूहको पुरुषतर्फ विपिनकुमार आचार्य पहिलो नम्बरमा छन् ।
सो समूहमा सचिन ढकाल, सुदीप ढकाल, प्रमोद न्यौपाने, रमेश प्रसाईं र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय छैटौं नम्बरमा रहेका छन् । खस आर्य महिलातर्फ प्रतिभा रावल पहिलो नम्बरमा रहँदा विदुषी राणा, लिमा अधिकारी (आचार्य), श्रद्धा कुँवर, समीक्षा बाँस्कोटा, टीका संग्रौला (ज्वाला) र क्रान्तिशिखा धिताल क्रमशः सूचीमा छन् ।
दलित पुरुषतर्फ रुपक विश्वकर्मा घिमिरे पहिलो र गायक प्रकाश सपुत दोस्रो नम्बरमा छन् । प्रकाशचन्द्र परियार, रामजी राम क्रमशः तेस्रो र चौथो नम्बरमा छन् । दलित महिलातर्फ अभिनेत्री रिमा विश्वकर्मा पहिलो नम्बरमा छिन् ।
थारु समुदायमा पुरुषतर्फ सुरेन्द्र चौधरी र महिलातर्फ गीता चौधरी पहिलो नम्बरमा परेका छन् । मधेशी समुदायको पुरुषतर्फ डा. नन्दन यादव र महिलातर्फ पुनमकुमारी अग्रवाल पहिलो नम्बरमा छिन् । मुस्लिम समुदायतर्फ पुरुषमा आसिफ शाह र महिलामा समिना मिया पहिलो नम्बरमा छन् । उनीहरूपछि मिर्जा रसिद वेग, मोहना अन्सारी र समिउन निशा सूचीमा छन् ।
निर्वाचन आयोगका अनुसार आइतबार र सोमबार समानुपातिक सूची बुझाउने समय तोकिएको थियो । हालसम्म ६४ राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । ती दलबाट कुल ४ हजार ४२४ जना उम्मेदवार समानुपातिकतर्फ कायम भएका छन् । आयोगका अनुसार ५४ दलले आ–आफ्नै चुनाव चिह्न कायम राखेर सूची बुझाएका छन् भने १० दलले विभिन्न चार वटा चुनाव चिह्न प्रयोग गरी सूची दर्ता गराएका हुन् ।

