`

सेलिब्रेटीको राजनीतिक मोह : रियालिटी शोका होस्टदेखि पूर्व क्रिकेटरसम्म समानुपातिकको बन्दसूचीमा

रामचन्द्र जोशी १५ पुष २०८२ १४:१०
प्रमुख खबर

काठमाडौं– राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन् ।

आयोगले पुसको १३ र १४ गतेभित्र समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन निर्देशन दिएपछि अधिकांश दलहरू अन्तिम समयसम्म पनि सूची तयार पार्न व्यस्त देखिएका थिए ।

यसपटक दलहरूले बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा युवा, नयाँ अनुहार र विभिन्न क्षेत्रका सेलिब्रेटीहरूको उल्लेखनीय उपस्थिति देखिएको छ । कलाकार, खेलाडी, मिस नेपाल, सामाजिक अभियन्ता तथा जेन–जी पुस्ताका प्रतिनिधिहरूलाई प्राथमिकतामा राख्दै दलहरूले समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाएका हुन् ।

नेपाली कांग्रेसले आफ्नो समानुपातिक बन्द सूचीमा ३५ वर्षमुनिका १५ जना युवालाई समेटेको छ । कांग्रेसले २०६४ पछि समानुपातिक प्रणालीबाट सांसद बनेका कुनै पनि नेतालाई यसपटक सूचीमा राखेन ।

पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार बन्दसूचीमा पाँच प्रतिशतभन्दा बढी जेन–जी पुस्ताको प्रतिनिधित्व छ । कांग्रेसले संस्थापन पक्षलाई ६० प्रतिशत र इतरपक्षलाई ४० प्रतिशत भागबण्डा मिलाएर उम्मेदवार छनोट गरेको जनाएको छ ।

नेकपा एमालेले पनि समानुपातिक बन्दसूची तयार गर्दा युवालाई प्राथमिकतामा राखेको देखिएको छ । भ्रातृ संगठनहरूमा सक्रिय युवालाई एमालेले अवसर दिएको हो ।

विद्यार्थी, युवा तथा महिला संगठनबाट आएका नेताहरू सूचीमा समेटिएका छन् । यद्यपि, एमालेले केही पुराना अनुहार दोहोर्‍याएको छ ।

१७ दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि भर्खरै राजनीतिक जीवन थालेका नयाँ अनुहारहरूलाई समानुपातिकतर्फको बन्दसूचीमा समावेश गरेकाे छ ।  नेकपाको सूचीमा भ्रातृ संगठनमा लामो समयदेखि सक्रिय रहेका कार्यकर्ताहरूको संख्या धेरै देखिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको छ ।

रास्वपाको सूचीमा चर्चित क्रिकेटरदेखि कलाकार, गायक र सामाजिक अभियन्तासम्मको घुइँचो देखिन्छ ।

पार्टीले विभिन्न क्षेत्रका चर्चित र प्रभावशाली व्यक्तिहरूलाई समानुपातिक सूचीमा समावेश गरेको हो ।

रास्वपाले नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक बन्द सूचीमा राखेको छ ।

उनी बालेन कोटाबाट सूचीमा परेका हुन् । गायक प्रकाश सपुत तथा रियालिटी शोका होस्टद्वय रिमा विश्वकर्मा र आसिफ शाह पनि रास्वपाको बन्द सूचीमा समावेश छन् । रिमा र प्रकाश दलित क्लस्टरबाट क्रमशः पहिलो र दोस्रो नम्बरमा रहेका छन् । आसिफ मुस्लिम क्लस्टरबाट पहिलो नम्बरमा अटाएका छन् ।

रास्वपाले पूर्व मिस नेपाल अनुष्का श्रेष्ठलाई पनि आफ्नो समानुपातिक बन्द सूचीमा समेटेको छ ।

पार्टीको सूचीमा त्रिशला गुरुङ, सत्यकला राई, सचिन ढकाल लगायतका अन्य चर्चित व्यक्तिहरूको नाम पनि समावेश गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *