`

आज तमू ल्होछार, किन मनाइन्छ ?

Nepal One HD १५ पुष २०८२ १४:०९
प्रमुख खबर

काठमाडौँ । प्रत्येक वर्ष पौष पन्ध्रका दिन देशैभरी गुरुङ समुदायमा तमु ल्होछार विशेष हर्षोल्लासका साथ मनाउने गरीन्छ । तमू  भाषामा ‘ल्हो’ भनेको वर्ष र ‘छार’ भनेको नयाँ हो । यसैमा आधारित तमू ल्होछार नयाँ वर्षको आगमनलाई स्वागत गर्दै पुरानो वर्षको विदाईका लागि मनाईने गरेको सांस्कृतीक मान्यता छ ।

तमु क्यालेण्डर अनुसार एक वर्षमा चारवटा ल्होछार पर्छन् । पौष शुक्ल प्रतिपदामा प्रवर्तन हुने ल्होछारलाई तोल ल्होछार भनिन्छ । ल्होछारमध्येको यो आदिम ल्होछार हो । पश्चिम तिब्बतको कैलाशमान सरोवर वरिपरिका केही जनसमुदाय, नेपालको हुम्ला, मनाङ, भुटानका केही जनसमुदायमा मात्रै तोल ल्होछार प्रचलनमा रहिआएको छ।

कैलाश मानसरोवरदेखि पूर्व, ल्हासादेखि पश्चिम, सम्पूर्ण पश्चिम तिब्बत, नेपालको हुम्ला, मनाङ र खुम्बुबाहेकका सम्पूर्ण नेपालको हिमाली क्षेत्र र नेपालका तामाङ समुदायले मनाउने सोनाम ल्होछार हो। सोनाम ल्होछार माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ ।  

ल्हासादेखि पूर्वको तिब्बत, नेपालका खुम्बुका र यहाँबाट शाखाबन्दी भएर अयन्त्र बसोबास गरेका शेर्पाहरूले मनाउने ल्होछार ‘ग्याल्पो ल्होछार’ हो  । ‘ग्याल्पो ल्होछार’  फागुन शुक्ल प्रतिपदाको दिन मनाउने गरिन्छ । 

आज पौष १५ का दिन मनाईने ल्होछार तमू ल्होछार हो । अन्य तीनवटा ल्होछारहरु तिथीअनुसार मनाइन्छ भने तमू ल्होछार ‘सौरमान’ अनुसार मनाइन्छ । गुरुङहरुले मात्रै मनाउने भएकाले यसलाई तमू ल्होछार भनिएको हो ।          

ग्रह, राशि, तिथि, नक्षेत्र आदिमा ज्योतिषशास्त्रमा अधारित भएजस्तै बाह्र थरीका विभिन्न पशुपन्छीको नाउँबाट नामकरण गरिएको तमू वर्गचक्र ल्होकोरमा तमू क्यालेन्डरमा आधारित छ । उक्त क्यालेण्डरका अनुसार १२ वर्षमा एक तमू वर्गचक्र पुरा हुन्छ । १२ ल्होहरु गरुड गिद्ध (मुप्रील्हो), सर्प (सप्रील्हो), घोडा (तल्हो), भेंडा (मुल्हो), बाँदर (प्रह्ल्हो), चरा (च्यल्हो), कुकुर (खिल्हो), म्रिग (फोल्हो), मुसा (च्यूल्हो), गाई (लोल्हो), बाघ (तोल्हो) र बिरालो (ह्यूल्हो) वर्ग छन्।

तमू क्यालेन्डरअनुसार प्रत्येक वर्ष पौष १५ मा वर्ष परिवर्तन हुन्छ ।  तमूहरु समूदायमा बस्ने र प्राकृतिक स्वभावको भएकोले ल्होछार पनि सामुहिकरुपमा मिलेर मनाउँछन् । 

विशेष गरी पौष १४, १५ र १६ तिन दिनसम्म समाजघर अथवा कुनै फराकिलो ठाउँमा सामुहिकरुपमा खाना खाने, तमू मौलिक सांस्कृतिक नाँचगान, खेलकूद गर्ने, समाजका मान्यजनहरुबाट आशिर्वाद लिने, समाजका युवावर्गलाई हौसला बढाउने साथै समाज र राष्ट्रप्रति योगदान पुर्याउँने व्यक्तिहरुलाई राम्रो कामको प्रशंसा गर्दै सम्मान गरिन्छ ।

तस्बिरहरु :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *