पुराना पार्टी सिद्धिइसके भन्ने सोसल मिडियाको शहरिया होहल्ला मात्रै हो : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुराना पार्टी सिद्धिए अब नयाँहरू उदाउँछन् भन्ने शहरिया होहल्लामा सत्यता नभएको बताएका छन् । उनले गाउँ–गाउँमा स्थापित दलहरूप्रति नै आमजनताको भरोसा रहेको दाबी गरे । रूकुमबाट काठमाडौंसम्म पैदल यात्रा गरेका नेकपा युवा नेता केशव रावलको यात्रा समापनका लागि पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले सामाजिक सञ्जालबाट उदाएकाहरूले देशको नेतृत्व गर्न नसक्ने बताएका हुन् ।
‘अहिले सोसल मिडिया र शहर बजारका मान्छेका होहल्ला हेर्यो भने विचारविहीन, निष्ठाविहीनले कब्जा गरे भन्ने जस्तो होहल्ला छ । पार्टी सिद्धिइसके भन्ने र्युमर छ’ प्रचण्डले भने, ‘जसले दशकौं लडाइँ लडेर आन्दोलन गरेर कीर्तिमान कायम गरेका, ती पार्टीको काम छैन भने जस्तो । त्यस्तै त्यस्तै सोसल मिडियाबाट होहल्ला गर्नेहरू तिनै नै मुक्तिदाता हुन् भने जस्तो शहर बजारमा या मोबाइल हेर्नेहरूको हातहातमा त्यस्तो हो कि भन्ने भ्रम पर्ने गर्छ । तर त्यसो होइन ।’
प्रचण्डले शहरमा भइरहेको भन्दा गाउँको माहौल पृथक रहेको दाबी गरेका छन् । ‘शहर बजारमा जे होहल्ला छ त्यस्तो होइन, गाउँमा पार्टीप्रति सकारात्मक भाव छ । सोसल मिडियामा जे जस्तो चर्चा छ, जनतामा त्यस्तो छैन । पार्टीप्रति जनतामा आशा–भरोसा कायमै छ भन्ने कुरा महसुस गथ्र्यो । तपाईंले पैदल यात्रामार्फत् त्यस्तै सन्देश ल्याउनुभयो धन्यवाद छ’ प्रचण्डले भने । नेकपा एकताको सन्देश दिन भन्दै युवा नेता रावलले रूकुमदेखि काठमाडौंसम्म १५ दिन यात्रा गरेका थिए ।
