अवसर पाउँदा पाउँदै छोडेकाे हो, नयाँ रास्वपालाई शुभकामना : सुमना श्रेष्ठ
काठमाण्डाैँ । पूर्व शिक्षा मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्व सांसद सुमना श्रेष्ठले कुलमान, बालेन र रवि लामिछानेबीच एकता भएर बनेको रास्वपालाई आगामी राजनैतिक यात्राको लागि शुभकामना दिएकी छिन् । उनले जेनजी विद्रोह लगत्तै रास्वपा परित्याग गरेकी थिइन् ।
जेनजी विद्रोहपछि सबै वैकल्पिक र नयाँ राजनीतिक शक्तिहरू एक भएर जानुपर्ने माग उठेको थियो। यही दबावबीच बालेन्द्र शाह ‘बालेन’, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र रास्वपाको त्रीपक्षीय एकता भएपछि उनले शुभकामना दिएकी हुन् । साथै, त्रिपक्षीय एकता गर्नमा भूमिका खेल्ने सबैलाई धन्यवाद पनि दिएकी छिन् ।
फेसबुकमा स्टाटस लेख्दै ‘नयाँ रास्वपालाई शुभकामना छ’, उनले भनिन्, ‘ जनताको चाहना बलियो नयाँ शक्ति थियो, छ र त्यसका लागि पहल गर्ने सबैलाई धन्यवाद छ।’
यस्तै उनले आफुले रास्वपामा कहिल्यै पनि अवसरको राजनीति नगरेको पनि प्रष्ट पारिन् । युवाहरूका लागि देशमै समान अवसर बनाउने र नेपालीलाई नेपालीमात्र भएर बाँच्न सक्ने अवसर बनाउने बाहेक आफ्नो कुनै एजेण्डा नभएको दाबी गरेकी सुमनाले आफूले रास्वपा छोडेको अवसर नपाएर नभएको बताइन् ।
