यथास्थितिमा सीमित सोंच र परिवर्तनको चाहनाबीचको संघर्ष जारी छ : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिम्मेवार ढङ्गले परिवर्तनको पक्षमा अघि बढ्नुपर्ने बताएका छन् । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘देश र जनताप्रतिको जिम्मेवारीप्रति सचेत रहँदै नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सबल र दुर्बल पक्षहरूको समीक्षासहित सच्चिएर अघि बढ्ने प्रतिबद्धतालाई व्यवहारमा उतार्दै अघि बढिरहेको छ । यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबीचको संघर्ष अझै जारी छ । अहिले हामी जिम्मेवार ढङ्गले परिवर्तनको पक्षमा अघि बढ्नुपर्ने आवश्यकता छ ।’
नयाँ वर्ष २०२६ ले नयाँ आशा, ऊर्जा र संकल्प लिएर आउने विश्वासका साथ यो वर्ष सबै नेपालीका लागि राजनीतिक स्थिरता, सुख, शान्ति, समृद्धि र सफलताको वर्ष बनोस् भन्ने कामना पनि उनले गरेका छन् ।
उनले भने, ‘हामीबाट बिदा भएको वर्ष सन् २०२५ मा जेन–जी युवापुस्ताको आन्दोलनले राजनीतिक परिवर्तनको नयाँ अध्यायको संकेत गरेको छ । यसले पुराना संरचना, कार्यशैली र परिपाटीमा गम्भीर सुधारको आवश्यकता स्पष्ट पारेको छ । साथै, संविधान निर्माणका बेला तत्कालीन शक्ति–सन्तुलनका कारण फरक मतका रूपमा अघि सारिएका हाम्रा एजेन्डाहरूको औचित्य पनि यसले पुष्टि गरेको छ।यो तरल राजनीतिक परिस्थितिमा अग्रगामी शक्तिहरूबीच आपसी समझदारी र राष्ट्रिय एकता आजको महत्वपूर्ण आवश्यकता बनेको छ । वर्तमान संकटको सकारात्मक निकासका लागि राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो ।’
‘देश र जनताप्रतिको जिम्मेवारीप्रति सचेत रहँदै नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सबल र दुर्बल पक्षहरूको समीक्षासहित सच्चिएर अघि बढ्ने प्रतिबद्धतालाई व्यवहारमा उतार्दै अघि बढिरहेको छ । यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबीचको संघर्ष अझै जारी छ । अहिले हामी जिम्मेवार ढङ्गले परिवर्तनको पक्षमा अघि बढ्नुपर्ने आवश्यकता छ,’ प्रचण्डले थप भनेका छन् ।
