`

टायल्स उद्योगका दुई मजदुर मृत फेला, घटना शंकास्पद भन्दै आफन्तको प्रदर्शन

Nepal One HD १७ पुष २०८२ १३:२९
प्रमुख खबर

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटस्थित एक टायल्स उद्योगका दुई मजदुर मृत फेला परेका छन् । एक नेपाली र एक जना भारतीय मजदुर उद्योगमा मृत फेला परेका हुन् ।मृत फेला पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला–६६ ग्रामपोस्टका ३० वर्षीय विनोद कुमार रहेको प्रहरीले जानकारी दिएको छ ।

बुधबार राति ८ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म ग्यासी फायरमा ड्यूटीमा खटिएका उनीहरू मृत फेला परेको प्रहरीले जनाएको छ । ग्यासी फायरको पोकिङ फ्लोरमा गद्दा ओछ्याएर सुतेको अवस्थामा उनीहरू मृत फेला परेको जानकारी कम्पनीका म्यानेजर रमेश न्यौपानेले बिहान सवा ९ बजे प्रहरीलाई गराएका थिए ।

घटनाबारे जानकारी पाउनेबित्तैकै प्रहरी टोलीले घटनास्थल पुगेको पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुशील घिमिरेले जानकारी दिए । मृत फेला परेका दुवै जना मजदुरको शरीरमा कुनै पनि प्रकारको घाउ चोट नदेखिएको उनले बताए । मृतकका आफन्तले भने घटना शंकास्पद भएको भन्दै उद्योग घेराउ गर्दै प्रदर्शन गरिरहेका छन् । उनीहरूले दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने माग राखेका छन् । घटनास्थलमा अहिले ३१ जना प्रहरीको टोली खटेर घटनाबारे अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *