`

महाधिवेशन विवादका बीच आज कांग्रेस कार्यसम्पादन समितिको बैठक

Nepal One HD १८ पुष २०८२ ७:२७
समाचार

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर मतभेद तीव्र बन्दै गएको छ । यही पृष्ठभूमिमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ । दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

सभापति शेरबहादुर देउवाले आफ्ना निकटस्थ नेताहरूसँग परामर्श गरेपछि बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ । आजको बैठकलाई पार्टीको आगामी दिशा र महाधिवेशनसम्बन्धी निर्णयका हिसाबले महत्वपूर्ण मानिएको छ ।

यसअघि बिहीबार सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग गर्ने भनिएको छलफल अन्तिम समयमा स्थगित गरेका थिए । साँझ ५ बजेका लागि तय गरिएको छलफल नहुने जानकारी देउवाले अन्तिम समयमा महामन्त्रीद्वयलाई गराएका थिए ।

पार्टी मुख्यसचिव पौडेलका अनुसार सभापति देउवाले आज महामन्त्रीद्वयसँग अलग्गै छलफल गर्ने तयारी गरेका छन् । ‘आज अनुकूल समयमा सभापति ज्यूले महामन्त्री ज्यूहरूलाई बोलाएर छलफल गर्नु हुन्छ’, पौडेलले भने । महामन्त्रीद्वयले विशेष महाधिवेशनको माग गर्दै भृकुटीमण्डपमा हल बुक गरेपछि देउवाले छलफलको पहल गरेका हुन् ।

निर्धारित समयमै नियमित महाधिवेशन हुन नसक्ने अवस्था देखिएपछि बिहीबार महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन स्थगित भएको सार्वजनिक घोषणा गरेका थिए । उनीहरूले अब विशेष महाधिवेशन नै आवश्यक भएको तर्क गर्दै आएका छन् । यसका लागि आवश्यक तयारीसमेत अगाडि बढाइएको छ । महामन्त्री थापा विशेष महाधिवेशनका लागि आवश्यक दस्तावेज तयारी गर्न केही दिन धुलिखेल बस्ने तयारीमा छन् ।

उता सभापति देउवा र बहुमत केन्द्रीय नेतृत्व भने संस्थापन पक्षमै उभिएको छ । संस्थापन पक्षले कुनै पनि हालतमा नियमित महाधिवेशन नै गर्नुपर्ने अडान दोहोर्‍याउँदै आएको छ । पुस १६ गतेदेखि वडास्तरबाट सुरु गर्ने भनिएको नियमित अधिवेशन हुन नसके पनि, त्यसलाई स्वीकार गर्दै अर्को उपयुक्त मिति तोकेर प्रक्रिया अघि बढाउनु पर्ने उनीहरूको धारणा छ ।

महाधिवेशनको स्वरूप र समयबारे नेतृत्व तहमा देखिएको यो मतभेदले कांग्रेसभित्र आन्तरिक राजनीतिक गर्मिएको छ । आज बस्ने कार्यसम्पादन समिति बैठक र सभापति–महामन्त्रीबीचको छलफलले पार्टीको आगामी बाटो के हुने भन्ने संकेत गर्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *