नयाँ बर्षको पार्टी चलिरहेको बारमा आगलागी : कम्तीमा ४० जनाको मृत्यु
स्विट्जरल्याण्ड । नयाँ वर्षको पूर्व सन्ध्यामा स्विट्जरल्याण्डको एक बारमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । आगलागीमा सय बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारअनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ ।
मृतक र घाइतेहरूको राष्ट्रियताबारे कुनै स्पष्ट जानकारी जारी गरिएको छैन । अधिकारीहरूले घाइतेमध्ये ६० जनाको सायन अस्पतालमा उपचार भइरहेको बताएका छन् भने अन्यको अन्य अस्पतालहरूमा उपचार भइरहेको छ । दक्षिणपश्चिम स्विट्जरल्याण्डको क्रान्स–मोन्टानामा रहेको ले कन्स्टेलेसन बारमा यो घटना भएको थियो, जहाँ मानिसहरू उत्सव मनाउन भेला भएका थिए ।
स्विस राष्ट्रपतिले आगलागीलाई देशले अहिलेसम्म सामना गरेको सबैभन्दा ठूलो त्रासदीमध्ये एक भनेका छन् । आगलागीको कारण अझै पुष्टि भएको छैन । यद्यपि, केही प्रत्यक्षदर्शीहरूले शैम्पेनका बोतलहरूमा रहेको मैनबत्तीले छतमा आगो लागेको अनुमान गरेका छन् । फोरेन्सिक टोलीहरूले घटनास्थलबाट प्रमाण सङ्कलन गरिरहेका छन् र त्यहाँ उपस्थित व्यक्तिहरूसँग अन्तर्वार्ता लिइरहेका छन् ।
प्रहरी अधिकारीहरूले अनुसन्धानले सबै सम्भावित पक्षहरूलाई ध्यानमा राखेको बताएका छन् । स्विस आल्प्समा अवस्थित प्रमुख स्की रिसोर्ट सहर क्रान्स–मोन्टाना जाडो मौसम र नयाँ वर्षको पूर्व सन्ध्यामा पर्यटकहरूले भरिएको हुन्छ । लगभग १५ हजार जनसंख्या भएको यस शहरको अर्थतन्त्र धेरै हदसम्म पर्यटनमा निर्भर छ । घटनाले स्थानीय अधिकारीहरू र पर्यटन उद्योगमा संलग्न व्यक्तिहरूमा चिन्ता उत्पन्न गरेको छ ।
