`

प्रचण्डको आशंका : रवि, बालेन र कुलमानबीचको एकतामा ‘अदृश्य शक्ति’

Nepal One HD १८ पुष २०८२ १७:५४
बिशेष

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच देखिएको एकताको चर्चा प्रति गम्भीर आशंका व्यक्त गरेका छन् । उनले यस्तो एकता स्वेच्छिक नभई ‘अदृश्य शक्तिको दबाब’ मा जबरजस्ती गराइएको हुन सक्ने संकेत गरेका हुन् ।

संखुवासभामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले टेलिभिजन कार्यक्रममा सुनेको एक प्रसंग उल्लेख गर्दै भने, केही नेताहरूलाई मुद्दा, जेल, नागरिकता र पासपोर्ट जस्ता विषय देखाएर अपहरणको शैलीमा एकता गराउन खोजिएको चर्चा सार्वजनिक रूपमा आएको छ। यस्तो प्रवृत्तिप्रति गहिरो रूपमा सोच्न उनले आम नागरिकलाई आग्रह गरे । उनले भने, ‘मैले आज बिहानै एउटा टेलिभिजन कार्यक्रममा हेर्दै थिएँ—एउटा नेताको डेराबाट झन्डै अपहरणकै शैलीमा ल्याएर एकता गराइयो रे । एकता नगरे मुद्दा लगाइ दिने, जेल हालिदिने जस्ता धम्की दिइएको भन्ने कुरा निकै गम्भीर छ ।’

प्रचण्डले आफ्नो पार्टीको पक्षमा भने एकता पूर्ण रूपमा स्वेच्छिक र वैचारिक आधारमा भइरहेको दाबी गरे। उनका अनुसार हालसम्म नेपाली कम्युनिस्ट पार्टीसँग औपचारिक रूपमा १७ वटा दल एकताबद्ध भइसकेका छन् । पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीसँग पनि एकता भएको र त्यससम्बन्धी सबै कागजात निर्वाचन आयोगमा बुझाइसकिएको उनले जानकारी दिए । ‘धनगढीदेखि जनकपुर, सुर्खेत हुँदै काठमाडौंसम्म आयोजित सन्देश सभाहरूमा हजारौँ नेता–कार्यकर्ता विभिन्न पार्टीबाट हाम्रो पार्टीमा समाहित भएका छन्’, उनले भने । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दैनिक रूपमा पार्टी प्रवेशको लहर चलेको पनि उनले उल्लेख गरे ।

प्रचण्डले आफ्नो पार्टीले कुनै पनि व्यक्तिलाई जबरजस्ती एकतामा नल्याएको स्पष्ट पार्दै वैचारिक सहमतिका आधारमा स्वेच्छिक एकता भइरहेको बताए । तराई–मधेशदेखि पहाड र हिमालसम्म सबै जातजाति, भाषा, क्षेत्र र समुदायलाई समेटेर राष्ट्रिय एकताको बलियो आधार तयार गर्ने पार्टीको लक्ष्य रहेको उनको भनाइ थियो । सम्बोधनको क्रममा प्रचण्डले अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमतर्फ पनि ध्यानाकर्षण गराए । बंगलादेश, श्रीलंका र इन्डोनेसियाका पछिल्ला घटनालाई उदाहरण दिँदै उनले ‘जेन्जी’ को नाममा हुने सम्भावित घुसपैठ र अस्थिरता सिर्जनाको प्रयासप्रति सतर्क रहनुपर्ने बताए । यद्यपि उनले यस विषयमा नाम लिएर टिप्पणी गर्न उपयुक्त नठानेको स्पष्ट गरे । उनले भने, ‘कुन शक्ति कसरी भित्रिएर के गर्न खोज्दैछ भन्ने कुरा जनताले बुझ्न आवश्यक छ । भोलिका घटनाक्रमले के सत्य हो र के होइन भन्ने कुरा आफैं स्पष्ट गर्दै जानेछ ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *