`

विशेष महाधिवेशन कि नियमित महाधिवेशन ? कांग्रेसभित्रको विवाद उत्कर्षमा (भिडियोसहित)

Nepal One HD १८ पुष २०८२ २१:०८
नेपाली कांग्रेस

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन कि नियमित (आवधिक) महाधिवेशन भन्ने विषयलाई लिएर देखिएको विवाद झनै चर्किएको छ । पार्टीका महामन्त्री गगन थापाले जसरी पनि विशेष महाधिवेशन हुनैपर्ने अडान दोहोर्‍याएपछि कांग्रेस औपचारिक रूपमा दुई धारमा विभाजित देखिएको छ । एकातर्फ संस्थापन पक्ष नियमित महाधिवेशनको तयारीमा जुटेको छ भने अर्कोतर्फ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गरिरहेका छन् । अझ महामन्त्री पक्षधरले पौष २८-२९ मा विशेष महाधिवेशन गर्ने भनेर भृकुटीमण्डपमा हल पनि बुक गरिसकेका छन् । 

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले आफू स्पष्ट रूपमा विशेष महाधिवेशनको पक्षमा रहेको बताएका हुन्। उनले दुई–तीन दिनभित्रै केन्द्रीय समितिले विशेष महाधिवेशनको आह्वान गर्ने विश्वास व्यक्त गरे। ‘सभापतिज्यूले पार्टी फुट्न दिन्न भन्नुभएको छ । राजनीतिको उत्तरार्दमा दोस्रो पटक पार्टी जोगाउनकै लागि उहाँले विशेष महाधिवेशन आह्वान गर्नुहुन्छ भन्ने मेरो विश्वास छ,’ थापाले भने, ‘ तर यदि पार्टी केन्द्रले विशेष महाधिवेशन बोलाएन भने हामी विधानअनुसार अगाडि बढ्छौँ । कि विधान मान्दिन भन्नुपर्‍यो, होइन भने विधानमा भएको व्यवस्थाअनुसार महाधिवेशन हुन्छ।’

थापाले सभापतिले नगरे महामन्त्रीले विशेष महाधिवेशन बोलाउन सक्ने स्पष्ट उल्लेख गर्दै महामन्त्री पनि पार्टी केन्द्रकै अंग भएको पनि जिकिर गरे।

संस्थापन पक्ष नियमित महाधिवेशनको पक्षमा

यसअघि केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टीको नियमित महाधिवेशन वैशाखमा हुने स्पष्ट पारेका थिए । ‘वैशाख २८, २९, ३० र ३१ गते केन्द्रीय समितिको नियमित महाधिवेशन हुन्छ। केन्द्रीय समितिले यो निर्णय गरिसकेको छ,’ महतले भने, ‘विशेष महाधिवेशनको कुरा उठाउने साथीहरूलाई बाँकी रहेका प्रश्न सोध्न सक्नुहुन्छ।’

आजकै बैठकबाट कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको महाधिवेशन कार्यतालिका पारित भएको छ । तालिका अनुसार चैत २१ गतेदेखि वडा अधिवेशन सुरु भई वैशाख २८ देखि ३१ गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ ।

यससँगै कांग्रेसभित्र नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विवाद चरमोत्कर्षमा पुगेको छ । यी पछिल्ला घटनाक्रमले कांग्रेस स्पष्ट रूपमा दुई खेमामा विभाजित भएको देखिन्छ । यसले राजनीतिक वृत्तमा कांग्रेस पार्टी जीवनमा दोस्रो पटक फुटको संघारमा पुगेको हो कि भन्ने संसय पनि उत्पन्न गरेको छ ।

गगन थापाको दाबी : विशेष महाधिवेशनको कानुनी आधार – धारा १७(२)

महामन्त्री गगन थापाले विशेष महाधिवेशनको माग भावनात्मक नभई पूर्ण रूपमा पार्टी विधानमा आधारित रहेको दाबी गरेका छन् । उनले नेपाली कांग्रेस पार्टी विधानको धारा १७(२) उद्धृत गर्दै यदि केन्द्रीय महाधिवेशनका ४० प्रतिशत प्रतिनिधिहरूले विशेष कारण खुलाएर लिखित रूपमा माग गरेमा केन्द्रीय समितिले तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनैपर्ने बाध्यकारी व्यवस्था रहेको बताए ।

पुस २८-२९ मा आवश्यक ४० प्रतिशत प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै यसअघि नै निवेदन बुझाइसकेका छन् । महाधिवेशन प्रतिनिधिले निवेदन बुझाएको दिनदेखि ९० दिनको समयसीमा सुरु भइसकेको उनको भनाइ छ । तर पुस मसान्तभित्र नियमित महाधिवेशन हुन नसकेको अवस्थामा अब विशेष महाधिवेशन नगर्ने विकल्प विधानले नदिएको थापाको तर्क छ।

थापाले पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरूको पदावधि चार वर्षको हुने र असाधारण अवस्थामा केन्द्रीय कार्यसम्पादन समितिले बढीमा एक वर्षसम्म पदावधि थप गर्न सक्ने विधानको व्यवस्था पनि स्मरण गराए । यही धाराअनुसार केन्द्रीय कार्यसम्पादन समितिमा पदावधि थपको प्रस्ताव पारित भएको उनले बताए ।

क्रियाशील सदस्यता र डिजिटल प्रणाली

महामन्त्री थापाले क्रियाशील सदस्यताको विषयमा उठाइएका प्रश्नहरूको पनि जवाफ दिएका छन् । थापाले भने अनुसार नेपाली कांग्रेसमा क्रियाशील सदस्यता केन्द्रले मात्र टुंग्याउने व्यवस्था छैन । वडा, क्षेत्र र जिल्ला हुँदै प्रक्रिया अघि बढ्छ । क्रियाशील सदस्यताको कुरा उठाएर महाधिवेशन सार्ने कुराभन्दा अर्को हास्यास्पद कुरा हुन नसक्ने थापाको तर्क छ । ‘ केही समय अगाडी उहाहरु केके भनेर महाधिवेशन नगर्ने भन्नुहुन्थ्यो।  अब अहिले क्रियाशिला सदस्यको सिरियल नम्बरको विवाद निकाल्नुभएको छ’, उनले भने,’ क्रियाशिल सदस्यको सिरियल नम्बरले महाधिवेशन सार्ने भन्ने कुरा लोक हसाउने कुरा मात्रै हो ।’ 

पहिले कागजी प्रणाली भए पनि अहिले डिजिटल प्रणाली लागू भइसकेको उनले बताए। अब फर्म भरेपछि प्रणालीले स्वतः सिरियल नम्बर उत्पादन गर्ने भएकाले हातैले नम्बर लेख्ने आवश्यकता नरहेको उनको भनाइ छ ।

महामन्त्री चुप लागेर बस्दैनन्

महामन्त्री थापाले पार्टी नेतृत्वलाई स्पष्ट सन्देश दिँदै छिट्टै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर विशेष महाधिवेशनबारे निर्णय गर्न आग्रह गरेका छन् । ‘यदि बैठक नबस्ने, निर्णय नगर्ने र सबै आ-आफ्नो तरिकाले घर फर्किने अवस्था बनाइयो भने महामन्त्रीका रूपमा म चुप लागेर बस्न सक्दिन’, उनले भने, ‘ विश्वप्रकाश दाईको पनि जिम्मा लिन्छु।  महामन्त्रीहरु चुप लागेर बस्दैनन्,’ थापाले चेतावनीको शब्दमा भने। 

साथै, उनले धारा १७(२) ले दिएको अधिकार प्रयोग गरेर विशेष महाधिवेशन आयोजना गर्न बाध्य हुने पनि स्पष्ट पारे। ‘हामी अझै पनि आशा गर्छौँ, केन्द्रीय समितिको निर्णयबाटै विशेष महाधिवेशन आह्वान होस्,’  उनले भने ।’ यदि पार्टी केन्द्रले त्यो निर्णय गरेन भने महामन्त्रीका हैसियतले हामीले विधानमा भएको व्यवस्थानुसार विशेष महाधिवेशन गर्छौँ।’

थापाले भनेअनुसार केन्द्रीय समितिले निर्णय गरे पनि नगरे पनि पुस मसान्तभित्र काठमाडौंमै विशेष महाधिवेशन हुने निश्चित छ । उनले देशभरका महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनको लागि तयार हुन् कार्यकर्ता पंक्तिलाई निर्देशन पनि दिएका छन् ।

नियमित महाधिवेशन र विशेष महाधिवेशनको विवादले नेपाली कांग्रेस आन्तरिक राजनीतिको गम्भीर मोडमा पुगेको छ । विधानको व्याख्या, नेतृत्वको इच्छाशक्ति र आन्तरिक शक्ति सन्तुलनले कांग्रेसको आगामी दिनको राजनैतिक  दिशा तय गर्ने देखिन्छ। पार्टी नेतृत्व समयमै सहमतिमा नपुगे कांग्रेस पुनः विभाजनतर्फ जाने हो कि भन्ने चिन्ता राजनीतिक वृत्तमा गहिरिँदै गएको छ।

भिडियो: 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *