`

प्रचण्ड दिल्ली उड्नु अघि ओलीलाई भेट्दै

Nepal One HD २० पुष २०८२ ११:५८
प्रमुख खबर

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका दुई शीर्ष नेताबीच पुनः संवाद हुने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज (आइतबार) भेटवार्ता तय भएको छ । भेट एमालेको केन्द्रीय कार्यालय, च्यासलमा हुने तयारी छ ।

एमालेका एक नेताका अनुसार यसअघि शनिबार नै भेट गर्ने योजना रहे पनि प्रचण्ड तुम्लिङटारबाट काठमाडौं फर्किन ढिलाइ भएपछि भेट हुन सकेन । कार्यालय सचिव डा. भीष्म अधिकारीले समेत भेटका लागि व्यवस्थापन मिलाउन तयारी गरेका थिए । नेकपा नेता वर्षमान पुनले पनि भेटवार्ता हुने कुराको पुष्टि गरेका छन् । यसबीच संयोजक प्रचण्ड आइतबार साँझ नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेकाले त्यसअघि नै ओलीसँग भेट्ने सहमति बनेको हो । प्रचण्ड संखुवासभाबाट फर्किसकेपछि आजै पार्टी केन्द्रीय कार्यालयमा भेट गर्ने तय भएको ती नेताले जानकारी दिए ।

भेटको केन्द्रमा राष्ट्रियसभा निर्वाचन रहने संकेत देखिएको छ । एमाले स्रोतका अनुसार राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्य गर्ने अनौपचारिक सहमति यसअघि नै भइसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र अध्यक्ष ओलीबीच देउवा निवासमा भएको भेटमा यसबारे छलफल टुंगिएको दाबी गरिएको छ । तर सो सहकार्यमा नेपाली कम्युनिष्ट पार्टीलाई पनि समेट्ने कि नसमेट्ने भन्ने विषयले अन्तिम निर्णयमा ढिलाइ भएको बताइएको छ । ‘राष्ट्रियसभामा कांग्रेस–एमाले मिल्ने विषय लगभग निश्चित छ । तर नेकपालाई पनि सँगै लैजाने प्रस्ताव आएपछि अन्तिम टुंगो लाग्न सकेको छैन’, एमालेका ती नेताले भने ।

राष्ट्रियसभा निर्वाचनका लागि आगामी बुधबार उम्मेदवारी दर्ताको कार्यतालिका छ । माघ ११ गते हुने निर्वाचनमा रिक्त १९ सिटमध्ये १८ सिटका लागि प्रत्यक्ष निर्वाचन हुनेछ भने एक सिट मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछ । यता, एमालेका एक पदाधिकारी तहका नेताका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पनि प्रमुख तीन दल—नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच तालमेलको सम्भावनाबारे गहिरो छलफल भइरहेको छ ।

यद्यपि अध्यक्ष ओली यस विषयमा पूर्णतः सकारात्मक नभए पनि पार्टीभित्रबाट संविधान पक्षधर शक्तिहरू एकजुट भएर जानुपर्ने दबाब बढ्दै गएको बताइएको छ । यसै सन्दर्भमा शनिबार लम्जुङमा आयोजित कार्यक्रममा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच क्रमशः ७०, ७० र २५ सिटको तालमेल गरेर निर्वाचन लड्न सकिने धारणा सार्वजनिक गरेका थिए । आजको ओली–प्रचण्ड भेटलाई राष्ट्रियसभा निर्वाचनसँगै आगामी प्रतिनिधिसभा निर्वाचनको राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण संवादका रूपमा हेरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *