`

‘टकराव’ का बीच आज कांग्रेस कार्यसम्पादन समितिको बैठक

Nepal One HD २१ पुष २०८२ ८:०४
समाचार

काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिँदै गएको महाधिवेशन विवादको निर्णायक मोडका रूपमा आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन (सानेपा) मा दिउँसो १ बजे बस्ने बैठकलाई कांग्रेसको आन्तरिक राजनीति मात्र होइन, आगामी बाटो नै तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष र महामन्त्रीद्वय गगनकुमार थापा–विश्वप्रकाश शर्मा नेतृत्वको विशेष महाधिवेशन पक्षधरबीच लामो समयदेखि चलिरहेको रस्साकस्सी यही बैठकमा कसरी अघि बढ्छ भन्नेमा सबैको ध्यान केन्द्रित छ । बैठकको औपचारिक एजेण्डा समसामयिक राजनीति र पार्टीका आन्तरिक विषय भए पनि वास्तविक बहस १५औं महाधिवेशनकै वरिपरि घुम्ने निश्चित छ ।

गत शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले आगामी २०८३ वैशाख २८ देखि ३१ गतेसम्म नियमित १५औं महाधिवेशन गर्ने निर्णय गरेपछि कांग्रेसभित्र असन्तुष्टि थप चर्किएको छ । किनकी पार्टी विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको ४० प्रतिशतले लिखित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ ।

विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते नै ५४ प्रतिशत अर्थात् २,४८८ प्रतिनिधिले हस्ताक्षर बुझाइसकेको विशेष पक्षधरको दाबी छ । उनीहरूका अनुसार पुस मसान्तसम्म विशेष महाधिवेशन बोलाइनु विधानको बाध्यकारी व्यवस्था हो । यही आधारमा महामन्त्रीद्वयले पुस २७ र २८ गते विशेष महाधिवेशनको तयारी अघि बढाएका छन् ।

अहिले कांग्रेसभित्र तीन स्पष्ट समूह देखिन्छन् । पहिलो, सभापति देउवाको नेतृत्वमा वैशाखमा नियमित महाधिवेशन गर्ने संस्थापन समूह । दोस्रो, गगन–विश्व समूह, जसले पुसमै विशेष महाधिवेशन हुनुपर्ने अडान लिएको छ । तेस्रो, नेता शेखर कोइरालाको समूह, जो दुवै पक्षबीच मध्यबिन्दु खोज्ने प्रयासमा छ । शेखर कोइराला समूहले पार्टी विभाजनतर्फ जान नदिन विशेष महाधिवेशन पक्षधरको भावना सम्बोधन गर्दै समन्वयको बाटो खोज्नुपर्ने धारणा बनाएको छ । उनीहरूका अनुसार विशेष महाधिवेशन भए वा नभए पनि नीति, विधान र संस्थागत सुधारका विषयमा गम्भीर बहस आवश्यक छ ।

विशेष महाधिवेशन पक्षधर समूहले अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेर महाधिवेशन प्रतिनिधिसँग संवाद बढाइरहेको छ । गगन थापा ‘डकुमेन्ट’ तयारीमा जुटेका छन् भने विश्वप्रकाश शर्माले व्यवस्थापकीय पक्ष सम्हालिरहेका छन् । प्रदेश, क्लस्टर र समूहगत छलफल तीव्र बनाइएको उनीहरूको भनाइ छ । तर, यही समूहभित्र पनि विशेष महाधिवेशनले पार्टीलाई दुर्घटनामा लैजान सक्ने डर देखिन्छ । ‘हामी पार्टी फुट्न दिँदैनौं’, भन्दै गगन थापाले विधान कार्यान्वयन गर्दा विभाजन नहुने दाबी गरे पनि मध्यबिन्दु खोज्नै पर्ने स्वीकारोक्ति समूहका नेताहरूबाट आउन थालेको छ ।

यता संस्थापन पक्ष पनि तनावमै छ । विशेष महाधिवेशनको तयारी तीव्र भएपछि सभापति देउवाले आफ्ना निकट नेताहरूसँग पटक–पटक छलफल गरेका छन् । पूर्व उपसभापति विमलेन्द्र निधिका अनुसार कार्यसम्पादन समितिले विशेष महाधिवेशन स्पष्ट रूपमा रोकेको भन्दै महाधिवेशन प्रतिनिधिलाई काठमाडौं नआउन अनुरोध गर्ने निर्णय समेत गरिएको छ ।

संस्थापन पक्षका नेताहरू विशेष महाधिवेशनलाई ‘गुटगत भेला’ मात्र ठान्छन् । उनीहरूका अनुसार कार्यसम्पादन समितिले वैशाखको महाधिवेशन तय गरिसकेपछि विशेषको औचित्य सकिएको छ । सहमहामन्त्री महेन्द्र यादवले पार्टी नफुट्ने र एक ढिक्का रहने दाबी गर्दै विशेष पक्षधरको गतिविधिलाई तागत प्रदर्शनको प्रयासका रूपमा चित्रण गरेका छन् ।

आजको कार्यसम्पादन समिति बैठकमा विशेष महाधिवेशन रोक्ने रणनीति, वैशाखको महाधिवेशन कार्यतालिका र सम्भावित मध्यबिन्दुको खोजी मुख्य बहसका विषय बन्ने छन् । क्रियाशील सदस्यता अझै टुंगो नलागेको अवस्थामा वैशाखमा महाधिवेशन सम्भव छ कि छैन भन्ने प्रश्न पनि उत्तिकै गम्भीर छ । विधान, संख्या र राजनीतिक दबाबबीच कांग्रेस अहिले निर्णायक मोडमा उभिएको छ । संस्थापन र विशेष पक्षधर एकअर्कालाई गलाउने रणनीतिमा व्यस्त रहँदा शेखर कोइराला समूहले अघि सारेको मध्यमार्गी विकल्पले पार्टीलाई एकतामा राख्न सक्छ कि सक्दैन-त्यसको संकेत आजको बैठकले दिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *