पार्टी विभाजनको प्रश्नले लपेटिए गगन- विश्व , होला त कांग्रेसको तेस्रो विभाजन ?
काठमाडौं । नेपाली कांग्रेस स्थापना भएको आठ दशक हुनै लाग्दा तेस्रोपटक विभाजनको डिलमा पुगेको संशय प्रकट भइरहेको छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरे त्यो विभाजनको बलियो जग हुने टिप्पणी भइरहेको छ । यस्तो टिप्पणी गर्नेहरू पार्टी संस्थापन पक्ष हो ।
हुन पनि द्वय महामन्त्री विशेष महाधिवेशनबाट दायाँबायाँ नगर्ने चट्टानी अडानमा छन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको भावनालाई कुल्चिएर अघि बढ्न कदापी नसकिने उनीहरूको भनाइ छ । यस्तोमा संस्थापन पक्ष पार्टी विभाजनको जोखिम बढ्ने भन्दै उनीहरूलाई रोक्न खोजिरहेका छन् ।
यहीबीच हालै बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ र वैशाखको अन्तिम साता महाधिवेशन गर्ने नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।
यद्यपि, पार्टी विभाजन गर्न खोजेको आरोपले द्वय महामन्त्रीलाई लपेटेको छ । उनीहरूले विगत केही दिनयता पार्टी विभाजन हुँदैन र गर्न खोजिएको होइन भन्दै स्पष्टीकरण दिनुपरेको छ ।
सोमबार मात्रै महामन्त्री शर्माले भनेका छन्, ‘पार्टी विभाजन होइन, विधान महाधिवेशनले पार्टी थप मजबुत हुन्छ ।’
कार्यसम्पादन समिति बैठकमा महामन्त्री शर्माले आगामी वैशाख अन्तिम साता महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधन गरिँदा फरक मत राखेका थिए । फरक मत राख्ने अर्का महामन्त्री गनन थापा पनि थिए ।
तर, कार्यसम्पादन समितिको बहुमतले कार्यतालिका संशोधन गरेर महाधिवेशन पर चार महिना पछि धकेलिदियो । महामन्त्रीद्वय भने जसरी पनि विशेष महाधिवेशन गर्ने सुरमा छन् ।
यदि, त्यसो गरे पार्टी विभाजन हुने सभापति शेरबहादुर देउवानिकट नेता कृष्णप्रसाद सिटौलाले बताए । त्यही भएर विशेष महाधिवेशन नहुने र हुन नदिइने उनको भनाइ छ ।
सोमबार पत्रकारहरूसँग काठमाडौंमा भने, ‘विशेष महाधिवेशन हुँदैन । हुन दिँदैनौं । कांग्रेस चिरा हुँदैन हामी हुन दिँदैनौँ ।’
उनले महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं नआउन पनि आग्रह गरे । यसअघि महामन्त्रीद्वयले भने विशेष महाधिवेशनका लागि भृकुटीमण्डप बुक गरेको विवरण सार्वजनिक भएको थियो ।
कांग्रेसको त्यो दुई विभाजन
नेपाली कांग्रेस प्रजातन्त्र स्थापनापछिको एकाध वर्षमै विभाजित भयो । पार्टीलाई विभाजनमा धकेलेको मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बन्दा हो । उनी २००८ सालमा प्रधानमन्त्री भए ।
भनिन्छ, उनी प्रधानमन्त्री भएको राजा त्रिभुवन र भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको चाहनाअनुसार थियो । खासमा त्यसबेला प्रधानमन्त्री बन्ने बीपीको चाहना थियो । उनी असफल भए ।
त्यसपछि पार्टीमा दाजु मातृका र भाइ बीपीबीच अन्तरसंघर्ष चुलियो । बीपीको अडान थियो– ‘मातृकाले पार्टी सभापति छाडेर प्रधानमन्त्री मात्रै हुुनुपर्छ ।’ मात्रिकाले अस्वीकार गरे ।
यसबीच २००९ को जेठमा भएको पार्टीको पाँचौँ महाधिवेशनबाट सभापति बीपी निर्वाचित भए । साउनको ८ गते पार्टीबाट प्रधानमन्त्री भएका मातृकासहित सबै मन्त्रीलाई फिर्ता बोलायो ।
तर, मातृकाले प्रधानमन्त्रीबाट राजीनामा दिए न त मन्त्रीहरूले नै । यसपछि ११ साउनमा मातृकासहित कांग्रेसबाट मन्त्री भएकाहरूलाई बीपीले तीन वर्षसम्मका लागि क्रियाशील सदस्यता नरहनेगरि निलम्बन गरे ।
त्यसपछि मातृकाले आफ्नो नेतृत्वमा २१ भदौमा ‘नेपाली कांग्रेस तदर्थ समिति’ गठन गरे । यो नै कांग्रेसको पहिलो विभाजन थियो । पहिलाे कांग्रेस विभाजक मातृका बने ।
यसपछि कांग्रेसलाई विभाजन गर्ने शेरबहादुर देउवा भए । उनले २०५९ को असार ५ गते पार्टी विभाजन गरे । त्यसबेला उनी प्रधानमन्त्री थिए भने पार्टी सभापति गिरिजाप्रसाद कोइराला ।
उनीहरूबीच संकटकालको म्याद थपको विषयमा मतभेद देखिएको थियो । जतिबेला देशमा माओवादी युद्ध उत्कर्षमा थियो । देउवा सरकारले त्यस वर्षको ३ जेठमा थप छ महिना संकटकाल लगाउने प्रस्ताव दर्ता गर्यो ।
त्यसपछि प्रधानमन्त्री देउवालाई स्पष्टीकरण सोध्ने काम भयो । देउवाले स्पष्टीकरण दिए । तर, चित्त नबुझेको भन्दै उनलाई सभापति कोइरालाले १२ जेठमा पार्टीबाट तीन वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरे ।
यसको पृष्ठभूमिमा देउवाले सोही वर्ष नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे । यसरी कांग्रेस औपचारिक रूपमा दोस्रोपटक विभाजित भयो ।
