`

कोशीका सबै पुराना मन्त्री फेरिंदै, आज को–को आउँदैछन् नयाँ ?

Nepal One HD २२ पुष २०८२ १५:१४
प्रमुख खबर

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशका सबै मन्त्री फेरबदल गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री कार्यालयका स्रोत अनुसार, नयाँ मन्त्रीको शपथ ग्रहण आज साँझ साढे ४ बजे प्रदेश प्रमुखसँग गरिनेछ । वर्तमान सरकारमा रहेका सबै मन्त्रीले आजै राजीनामा दिने तयारी गरेका छन् । कोशी प्रदेशको गठबन्धन सरकारमा एमाले र कांग्रेसबीच भएका समझदारीअनुसार पुराना मन्त्री फिर्ता पठाएर नयाँ अनुहारलाई मन्त्रालय जिम्मेवारी दिने निर्णय गरिएको हो। यसरी, मन्त्रालयहरू उही रहने भए पनि व्यक्ति फेरिने तयारी छ ।

एमालेबाट नियुक्त हुने नयाँ मन्त्रीहरू

एमालेबाट विद्यमान मन्त्रीहरू– आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राम राना, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री एकराज कार्की, सामाजिक विकासमन्त्री पाँचकर्ण राई, र राज्यमन्त्री सिर्जना राईले आजै राजीनामा दिनेछन् ।

नयाँ मन्त्रीहरू यस प्रकार नियुक्त हुने तयारी छ :

–विदुरकुमार लिङ्थेप – आर्थिक मामिला तथा योजना
–चिन्तन पाठक – खानेपानी, सिँचाइ तथा ऊर्जा
–इन्द्रमणि पराजुली – आन्तरिक मामिला तथा कानुन
–रामप्रसाद महतो – सामाजिक विकास
–उमाकान्त गौतम – राज्यमन्त्री

कांग्रेसबाट नियुक्त हुने नयाँ मन्त्रीहरू

कांग्रेसका वर्तमान मन्त्रीहरू– भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राई, पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल, उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हांगामले पनि आजै राजीनामा दिने तयारी गरेका छन् ।

नयाँ कांग्रेस मन्त्रीहरू यस प्रकार नियुक्त हुने तयारी छ
–प्रदीप सुनुवार (ओखलढुङ्गा) – भौतिक पूर्वाधार
–भीम पराजुली – पर्यटन, वन तथा वातावरण
–मानबहादुर लिम्बू (मोरङ) – स्वास्थ्य
–इस्राइल मन्सुरी (सुनसरी) – उद्योग, कृषि तथा सहकारी
–शोभा चेम्जोङ – राज्यमन्त्री (पूर्वाधार विकास)

मुख्यमन्त्री कार्यालयका स्रोतले भन्यो, ‘मन्त्रालय उही छन्, तर जिम्मेवारी पाउने व्यक्ति फेरिने तयारी हो । मन्त्री फेरबदल लामो समयदेखि निर्णयमा थिएँ ।’ नयाँ मन्त्रीहरूको शपथ ग्रहणको औपचारिक जानकारी प्रदेश प्रमुख कार्यालयबाट अझै आएको छैन, तर अनौपचारिक रूपमा तयारी पूरा भइसकेको छ । यससँगै कोशी प्रदेशमा नयाँ नेतृत्वको साथ सरकारको कामकाज पुनः गति लिन सक्ने देखिन्छ ।

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *