`

कोशीमा गठबन्धनका पोर्तेल, मेचे र थापाले गराए उम्मेदवारी दर्ता

विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । गठबन्धन अन्तर्गत एमालेबाट दलिततर्फ सोम पोर्तेल र महिलातर्फ रोशनी मेचेले मनोनयन दर्ता गरेका छन् । अन्यतर्फ कांग्रेस उम्मेदवार सुनील थापाले मनोनयन दर्ता गरेका छन् ।

मेचेको प्रस्तावक शोभा चेम्जोङ र समर्थक सिर्जना राई छन् । पोर्तेलको समर्थक छवि चुँडाल र प्रस्तावक एकराज कार्की छन् । सुनिल थापाको प्रस्तावक उद्धव थापा समर्थकमा रेगिना भट्टराई छिन् । कोशीमा तीन जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ। सो अनुसार एमालेले दुई र कांग्रेसले एक जना उम्मेद्वार बाँडफाँट गरेका छन ।

कसको मतभार कति ?

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशको मतभार १० हजार १३५ रहेको छ । निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख हुन्छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको १९ रहेको छ ।
कोशी प्रदेशका १३७ स्थानीय तहहरु मध्ये नेपाली कांग्रेसका ११४ (उपनिर्वाचनमा मोरङको ग्रामथान अध्यक्ष गुमाएको), एमालेका ११०, नेपाली कम्युनिष्ट पार्टीका ३९ (तत्कालिन माओवादीका ३२ र नेकपा एसका ७), जसपा नेपाल र राप्रपाका ४-४, श्रम संस्कृति पार्टी १ र स्वतन्त्र २ जना छन् ।

प्रदेशसभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७ (तत्कालीन माओवादी १३ र नेकपा एस ४), राप्रपाका ५ र जसपा नेपालका १ सांसद छन् । कोशी प्रदेशमा स्थानीय र प्रदेश सहित कांग्रेसको मतभार ३ हजार ७०३, एमालेको ४ हजार २१०, नेकपाको १ हजार ६४२, राप्रपाको ३९४ र जसपा नेपालको ७६, जसपाको ५३, श्रम संस्कृति पार्टीको १९ र स्वतन्त्रको ३८ मतभार रहेको छ । राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि १३ राजनीतक दल दर्ता भएका छन् ।

 

 

कोशीका सबै पुराना मन्त्री फेरिंदै, आज को–को आउँदैछन् नयाँ ?

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशका सबै मन्त्री फेरबदल गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री कार्यालयका स्रोत अनुसार, नयाँ मन्त्रीको शपथ ग्रहण आज साँझ साढे ४ बजे प्रदेश प्रमुखसँग गरिनेछ । वर्तमान सरकारमा रहेका सबै मन्त्रीले आजै राजीनामा दिने तयारी गरेका छन् । कोशी प्रदेशको गठबन्धन सरकारमा एमाले र कांग्रेसबीच भएका समझदारीअनुसार पुराना मन्त्री फिर्ता पठाएर नयाँ अनुहारलाई मन्त्रालय जिम्मेवारी दिने निर्णय गरिएको हो। यसरी, मन्त्रालयहरू उही रहने भए पनि व्यक्ति फेरिने तयारी छ ।

एमालेबाट नियुक्त हुने नयाँ मन्त्रीहरू

एमालेबाट विद्यमान मन्त्रीहरू– आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राम राना, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री एकराज कार्की, सामाजिक विकासमन्त्री पाँचकर्ण राई, र राज्यमन्त्री सिर्जना राईले आजै राजीनामा दिनेछन् ।

नयाँ मन्त्रीहरू यस प्रकार नियुक्त हुने तयारी छ :

–विदुरकुमार लिङ्थेप – आर्थिक मामिला तथा योजना
–चिन्तन पाठक – खानेपानी, सिँचाइ तथा ऊर्जा
–इन्द्रमणि पराजुली – आन्तरिक मामिला तथा कानुन
–रामप्रसाद महतो – सामाजिक विकास
–उमाकान्त गौतम – राज्यमन्त्री

कांग्रेसबाट नियुक्त हुने नयाँ मन्त्रीहरू

कांग्रेसका वर्तमान मन्त्रीहरू– भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राई, पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल, उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हांगामले पनि आजै राजीनामा दिने तयारी गरेका छन् ।

नयाँ कांग्रेस मन्त्रीहरू यस प्रकार नियुक्त हुने तयारी छ
–प्रदीप सुनुवार (ओखलढुङ्गा) – भौतिक पूर्वाधार
–भीम पराजुली – पर्यटन, वन तथा वातावरण
–मानबहादुर लिम्बू (मोरङ) – स्वास्थ्य
–इस्राइल मन्सुरी (सुनसरी) – उद्योग, कृषि तथा सहकारी
–शोभा चेम्जोङ – राज्यमन्त्री (पूर्वाधार विकास)

मुख्यमन्त्री कार्यालयका स्रोतले भन्यो, ‘मन्त्रालय उही छन्, तर जिम्मेवारी पाउने व्यक्ति फेरिने तयारी हो । मन्त्री फेरबदल लामो समयदेखि निर्णयमा थिएँ ।’ नयाँ मन्त्रीहरूको शपथ ग्रहणको औपचारिक जानकारी प्रदेश प्रमुख कार्यालयबाट अझै आएको छैन, तर अनौपचारिक रूपमा तयारी पूरा भइसकेको छ । यससँगै कोशी प्रदेशमा नयाँ नेतृत्वको साथ सरकारको कामकाज पुनः गति लिन सक्ने देखिन्छ ।

 

 

 

 

 

कोशी प्रदेश सरकार राहत तथा उद्धार कार्यमा सक्रिय

मोरङ । कोशी प्रदेश सरकारले हालको बाढी–पहिरोले प्रभावित क्षेत्रमा आफ्नो स्रोतसाधनलाई भ्याएसम्म स्रोतको परिचालन गर्दै राहत तथा उद्धार कार्य तीव्र बनाएको छ ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना इलाममा रही राहत तथा उद्धारमा खटिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यसैगरी प्रदेशका अन्य मन्त्रीसमेत आ–आफ्ना जिल्लाका प्रभावित क्षेत्रमा गएर प्रत्यक्ष रुपमा उद्धार तथा राहत कार्यमा सहभागी भएको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका सबै मन्त्री स्थलगत रुपमा रहेर राहत कार्यमा जुटिरहेको जानकारी दिए । उनले भौतिक तथा पूर्वाधार मन्त्रालयमार्फत बाढी–पहिरोका कारण अवरुद्ध भएका सडक तथा साना बाटो खोल्नका लागि १४ वटा पूर्वाधार कार्यालयलाई तत्काल काम अघि बढाउन निर्देशन दिएका छन् ।

मुख्यमन्त्री कार्कीले स्थानीय पालिकासँगको समन्वय र सहकार्यलाई अझ सुदृढ बनाई प्रदेश सरकार विपद् व्यवस्थापनमा पूर्ण रूपमा सक्रिय रहेको स्पष्ट पारे । यसैगरी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्लास्तरीय सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारीमार्फत समन्वय र सहकार्य गरिरहेको तथा सबैतिर आवश्यक समन्वय गरी उद्धार कार्यमा सक्रियता देखाइएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी फिल्डमा नै रही जनताको सुरक्षाका लागि काम गरिरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले केही दिनअघि प्रदेशका सुरक्षा निकायलाई लाइफ ज्याकेट, बोटलगायतका रु दुई करोड मूल्य बराबरका विपद्–उद्धार सामग्री वितरण गरेका कारण उद्धार कार्य सहज भएको जनाइएको छ ।

झापाको एमाले पार्टी कार्यालयमा लगाइयो आगो

झापा । कोशी प्रदेशका विभिन्न शहरमा आज बिहानैदेखि जेनजीको आन्दोलन उग्र बनेको छ । झापाको बिर्तामोडस्थित नेकपा एमाले पार्टी कार्यालयमा प्रदर्शनकारीले आगो लगाएका छन् । यसअघि हिजो पनि त्यही कार्यालयमा तोडफोड भएको थियो । आज बिहानै भेला भएका प्रदर्शनकारीले पुनः कार्यालयमा तोडफोड गर्दै आगो लगाएका हुन् । यस्तै विराटनगरको देवकोटा चोक र पुष्पलाल चोकमा प्रदर्शनकारीको ठूलो भिड भेला भई प्रदर्शन भइरहेको छ ।

प्रदर्शनकारीले पुष्पलाल चोकमा रहेको पुष्पलालको शालिक समेत तोडफोड गरेका छन् । इटहरीमा पनि कर्फ्यू तोड्दै प्रदर्शनकारी सडकमा उत्रिन थालेका छन् । हिजो त्यहाँ भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएपछि इटहरी अहिले पनि तनावग्रस्त बनेको छ । विराटनगरमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाइएको छ ।