कोशीमा गठबन्धनका पोर्तेल, मेचे र थापाले गराए उम्मेदवारी दर्ता
विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । गठबन्धन अन्तर्गत एमालेबाट दलिततर्फ सोम पोर्तेल र महिलातर्फ रोशनी मेचेले मनोनयन दर्ता गरेका छन् । अन्यतर्फ कांग्रेस उम्मेदवार सुनील थापाले मनोनयन दर्ता गरेका छन् ।
मेचेको प्रस्तावक शोभा चेम्जोङ र समर्थक सिर्जना राई छन् । पोर्तेलको समर्थक छवि चुँडाल र प्रस्तावक एकराज कार्की छन् । सुनिल थापाको प्रस्तावक उद्धव थापा समर्थकमा रेगिना भट्टराई छिन् । कोशीमा तीन जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ। सो अनुसार एमालेले दुई र कांग्रेसले एक जना उम्मेद्वार बाँडफाँट गरेका छन ।
कसको मतभार कति ?
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशको मतभार १० हजार १३५ रहेको छ । निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख हुन्छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको १९ रहेको छ ।
कोशी प्रदेशका १३७ स्थानीय तहहरु मध्ये नेपाली कांग्रेसका ११४ (उपनिर्वाचनमा मोरङको ग्रामथान अध्यक्ष गुमाएको), एमालेका ११०, नेपाली कम्युनिष्ट पार्टीका ३९ (तत्कालिन माओवादीका ३२ र नेकपा एसका ७), जसपा नेपाल र राप्रपाका ४-४, श्रम संस्कृति पार्टी १ र स्वतन्त्र २ जना छन् ।
प्रदेशसभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७ (तत्कालीन माओवादी १३ र नेकपा एस ४), राप्रपाका ५ र जसपा नेपालका १ सांसद छन् । कोशी प्रदेशमा स्थानीय र प्रदेश सहित कांग्रेसको मतभार ३ हजार ७०३, एमालेको ४ हजार २१०, नेकपाको १ हजार ६४२, राप्रपाको ३९४ र जसपा नेपालको ७६, जसपाको ५३, श्रम संस्कृति पार्टीको १९ र स्वतन्त्रको ३८ मतभार रहेको छ । राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि १३ राजनीतक दल दर्ता भएका छन् ।
